धरान : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा वडा देखी केन्द्र सम्म उम्मेदवारको दाबी सुरु भएको छ। विगतमा छायामा बसेका नेता कार्यकर्ताहरूले कार्यकारी भूमिकामा नेतृत्व लिने गरी तयारी थालेका छन्। 

धरानमा अघिल्ला अधिवेशनमा भन्दा १४ औँ  महाधिवेशनको सरगर्मी निक्कै बढेको छ। २०७६ सालको उपनिर्वाचनमा धरानको मेयरमा नेपाली काँग्रेस उम्मेदवार विजयी भएपछि माहौल ह्वातै झनै बढेको हो। धरानलाई काँग्रेसको गढ कायम राख्ने मुख्य एजेन्डा सहित नेताहरूले धमाधम उम्मेदवारी दिन थालेका छन्।

बुधवार प्रेस युनियन सँगको भेटघाटको क्रममा युवा नेता अजय कुमार राईले धरान नगर सभापतिको उम्मेदवार आफू पनि भएको दाबी गरे । हालको संस्थापन पक्षबाट आफू बलियो उम्मेदवार भएको भन्दै उनले धरान काँग्रेसमा जागरणको अभियान ल्याउन उम्मेदवारी दिन लागेको बताए। सोही टिमबाट केही दिन अगाडी नेपाली काँग्रेसका जिल्ला सदस्य तथा प्रदेशसभा सदस्यका उम्मेदवार किशोर कुमार राईले समेत नगर सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए।

पूर्व नगर सभापति समेत रहेका राईले धरानलाई काँग्रेसको गढ बनाउने प्रतिबद्धता सहित पुनः नगर सभापति हुन लागेको बताए । किशोर राईको उम्मेदवारीलाई कटाक्ष गर्दै अजय राईले एउटै कक्षामा बारम्बार दोहोर्‍याउन आग्रह गरेका छन् ।

पार्टीका काम गर्ने कार्यकर्तालाई बेवास्ता गर्ने र हचुवाको भरमा क्रियाशील सदस्यता वितरण गर्ने काम लाई पुर्णरुपमा नियन्त्रण गर्ने उनको योजना छ। एक व्यक्ती एक पदको अभियानलाई अगाडी ल्याएका उनले आफू सभापति भए मेयर वा अन्य कुनै पनि पदमा उम्मेदवार नहुने प्रस्ट पारे। लामो समय पार्टीको नेतृत्वमा बसेर युवा, प्राध्यापक, पत्रकार तथा अभियन्ताहरूलाई समेट्न नसक्नु हालको नेतृत्वको कमजोरी भएको उनको आरोप छ । आफू सभापति भएको खण्डमा भातृ संस्था देखी शुभेच्छुक संस्थालाई समेत कार्यक्रम दिएर जागरण चलाउने उनले बताए ।

२०५० सालमा नेपाल विद्यार्थी सङ्घ धरान नगर सभापति भएका राईले हङ्कंङमा नेपाली काँग्रेस जनसम्पर्क समिति स्थापनाको नेतृत्व गरेका थिए ।  विभिन्न देशमा काँग्रेसको सम्पर्क समिति स्थापना गर्ने काममा उनको महत्त्वपूर्ण भूमिका छ ।

धरानको घण्टाघर निर्माणमा सहयोग उठाउन वृहत् कार्यक्रम गर्ने देखी रङ्गशाला निर्माण गर्न ६७ लाख सङ्कलन आफ्नै नेतृत्वमा भएको उनले सुनाए । जनप्रतिनिधि विहीन भएको अवस्थामा नगर विकास समिति सभापतिको समेत अनुभव रहेको उनले बताए । २०७४ सालको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ (ख) को चुनावी कमान्ड सम्हालेका राईले २०७६ सालमा भएको महासमिति भेलामा राजनैतिक प्रतिवेदन तयार पार्ने काम गरेका थिए ।

२०७० सालमा काँग्रेस छाडेर ८ महिना सङ्घीय समाजवादीमा लागेका उनी त्यो बेला सामान्य असन्तुष्टिले पार्टी छाड्नुपरेको बताउँछन् । पछि आफ्नै मूल घर ठिक हो भन्ने महसुस भएपछि पुनः काँग्रेसमै फर्किएको उनले प्रस्ट पारे ।

राई लाई सभापति बनाउने अभियानमा लागेका पूर्व सुनसरी जिल्ला उपसभापति विनोद राई पुरानो नेतृत्वबाट कार्यकर्ता थकित भएकाले अजयको विजय निश्चित भएको बताउँछन् । काँग्रेसमा को चाहिँ उपयुक्त पात्र हो भन्ने छुट्याउनुपर्ने बेला भएको उनको तर्क छ । जो सक्षम छ र जो राम्रो नेतृत्व दिन सक्छ त्यसलाई विजयी गराउनुपर्ने उनले बताए ।