धरान : लामो समय कम्युनिस्टको गढ भनेर चिनिने धरान उपमहानगरपालिकामा २०७६ को उपनिर्वाचनमा नेपाली काँग्रेसले सफलता हात पार्‍यो । काँग्रेसका स्थानीय नेताहरूले सङ्गठन मजबुत भएकाले चुनावी परिणाम आफ्नो पक्षमा आएको बताए । निर्वाचन परिणामको जस लिएर अगामी अधिवेशनमा पनि नेतृत्व लिने कसरत सुरु भएको छ । त्यही दौडमा छन् काँग्रेस नगर सचिव श्याम पोखरेल।

१४ औँ महाधिवेशनमा सभापतिको दाबेदारको रूपमा उनले आफूलाई प्रस्तुत गरेका छन् । पुरानो संस्थापन र त्यसमा पनि डा. शेखर कोइराला निकट रहेका पोखरेल स्थानीय स्तरमा हालका नगर सभापति तथा मेयर तिलक राईका विश्वास पात्र हुन्। मेयरको सचिवालयमा महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएका उनलाई राईले खुलेरै सहयोग गर्ने देखिएको छ।

आफू समय दिन सक्ने र कार्यकर्ता माझ जुनसुकै बेला उपलब्ध हुने भएकाले सभापतिको लागी उपयुक्त भएको उनको तर्क छ । कपुरी न्युजसंग कुरा गर्दै पोखरेलले काँग्रेस कसरी मजबुत हुन्छ भन्ने उदाहरणको रूपमा देखाउने योजना रहेको बताए । "धरानलाई काँग्रेसको रोल मोडेलको रूपमा विकसित गराउँछु ।", उनले भने, “एक व्यक्ती एक पदको अवधारणा अन्तरगत काम गर्छु । पार्टी सभापति भएर मात्र मेयर वा उपमेयर पद पाइन्छ भन्ने मनोविज्ञानको अन्त्य गर्छु । जसले गर्दा हरेक युवाले पार्टीमा अवसर र जिम्मेवारी पाउनेछन् ।”

“एक घर एक काँग्रेस एक टोल एक योजना” सहित सङ्गठन बिस्तार गरेर अगाडी बढ्ने पोखरेलले बताए । टोल देखी नै समिति बिस्तार गर्दै सबै युवालाई अवसर दिने गरी सङ्गठनमा जिम्मेवारी बाँडफाँड गर्ने उनको योजना छ । धरानको समस्याको रूपमा रहेको कर, खानेपानी र सुकुम्वासीको समस्या समाधानमा आफू दृढताका साथ लागिपर्ने उद्घोष गरे ।

जातीय रूपमा विभाजित हुने आरोप लाग्ने गरेको धरानले आनन्द आचार्य, मदन ढकाल, घनश्याम आचार्य, राजेन्द्र बजगाईँको नेतृत्व पाइसकेको उनले सुनाए । त्यही भएर आँफु पनि धरान काँग्रेसको सभापति हुनेमा विश्वस्त छन् पोखरेल । केन्द्रीय सत्ता सँग धरानको पहुँच कम बन्दै गएको स्मरण गराउँदै उनले अब नेतृत्वमा विकल्पको खाँचो रहेको बताए ।

हालको संस्थापन पक्षबाट अजय राई र पूर्व नगर सभापति किशोर कुमार राईले समेत उम्मेदवारी घोषणा गरेका छन् । अन्तिम समयसम्म दुवै उम्मेदवार कायम रहे पोखरेललाई जित्न सहज हुने स्थानीय कार्यकर्ताहरू बताउँछन् ।

काँग्रेसी परिवारमै जन्मिएका उनी ‘भोट दिनु रुखमा भात खानु मुखमा’ भन्ने सुनेरै हुर्किएको बताउँछन् । स्कुल देखी नै नेबिसंघको राजनीतिमा लागेर पछि महेन्द्र बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा ९२ भोटले पराजित भएको उनको अनुभव छ । काँग्रेसको नगर सदस्य र नेबिसंघको जिल्ला उपसभापति भएको बेला सङ्कटकालमा धरानबाट पहिलो पटक पक्राउ परेका थिए । धरानमा पार्टीको राजनीति गरेका पोखरेल हाल सभापतिको सशक्त दाबेदारको रूपमा देखिएका छन् ।