धरान : धरानको भानुचौकमा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्म जयन्ती मनाइएको छ ।

नेपाली लेखक सङ्घ सुनसरीले धरानको भानुचौक स्थित भानुभक्तको शालिकमा माल्यार्पण गरी लेखक, कविहरूका जमघट बिच भानु जयन्ती मनाएको हो ।

धरानका मेयर तिलक राईले भानुचौक धरानको साहित्यिक इतिहासको साक्षी भएको बताउँदै त्यो इतिहासका कुराहरू लाई दस्तावेजीकरण गर्न उपमहानगरपालिकाले यसपालि बजेट विनियोजन गरेको बताए ।

धरान पूर्वको शिक्षाको केन्द्र रहेकाले साहित्यिक उन्नयनमा महत्त्वपूर्ण भूमिका रहेको चर्चा गर्दै इतिहासमा यहाँ स्थापना भएका साहित्यिक संस्थाहरू, गतिविधिहरू, साहित्यकारहरूका योगदानका ससाना कुराहरू लाई दस्तावेजीकरण गरिनुपर्ने उनको भनाई छ । अग्रजहरू सँग छलफल, कुराकानी गरेर त्यस्तो दस्ताबेज तयार गरिने छ ।

लेखक सङ्घका अध्यक्ष प्रा.डा. गोपालप्रसाद भण्डारीको सभापतित्वमा भएको माल्यार्पणमा मोती संस्मरण समितिका अध्यक्ष गोविन्द तिम्सिनाले धरानको साहित्यिक इतिहास फाटफुट लेखिए पनि इतिहासको दस्ताबेजका रूपमा भने नआएको बताए । प्रा.डा.महानन्द तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।