धरान: शहरी विकास मन्त्रालयले धरानको भानुचोकलाई नयाँ स्वरुपमा विकास गर्न डिपिआर तयार गरेको छ । विराटनगरदेखि धरानलाई मेघा सिटी बनाउने परियोजनाअन्र्तगत मन्त्रालयले भानुचोकमा बेसमेन्टसहितको पार्क निर्माण गर्ने डिपिआर तयार गरेको हो ।

कन्सल्टेन्टमार्फत तयार भएको डिपिआर मन्त्रालयमा पुगेको छ । यो डिपिआर वमोजिम भानुचोक पुननिर्माण हुनसक्यो भने अहिलेको अस्तब्यस्त भानुचोक सुन्दर पार्कमा परिणत हुनेछ । बेसमेन्टमा पार्किङको व्यवस्था गरिनेछ भने माथि(हालको भानुचोक क्षेत्रमा) कुनै पनि सवारीसाधान गुड्न प्रतिबन्ध लाग्नेछ । ‘डिपिआर वमोजिम भानुचोक बीच भएर कुनै पनि गाडी गुड्न पाउदैन, त्यहाँ सुन्दर पार्क विकास हुन्छ र मान्छे हिड्नलाई मात्र छुट दिइन्छ,’धरान उपमहानगरपालिकाका इञ्जिनियर सुरज श्रेष्ठले भने,‘गाडीहरु गुड्नलाई भानुचोक वरीपरी सडक निर्माण हुने डिपिआरमा छ, तर अण्डरग्राउण्ड वे बनाएर गाडीहरु लैजाने कि वरीपरी बाटोबाट पास गराउने भनेर छलफल हुन बाँकी छ ।’

भानुचोकमा रहेको घण्टाघरभित्र अहिले पनि पार्क छ । त्यस्तै सुन्दर पार्क भानुचोक एरियाभरि निर्माण हुनेछ । आकर्षक बगैचा, मान्छेहरु हिड्नलाई बाटो, गफिएर बस्ने ठाउँ, ठाउँ ठाउँमा पानीको फोहोराहरु निर्माण हुनेछ । भानुचोकमा पुर्णकदको भानुभक्तको सालिक हुनेछ । ‘कन्सल्टेन्टले डिपिआर मन्त्रालयमा बुझाएको छ, यसबिषयमा थप छलफल हुन बाँकी छ,’श्रेष्ठले भने ।

                                               बसपार्क सरेमात्र सम्भव छ

11

मन्त्रालयले भानुचोकलाई सुन्दर पार्कमा परिणत गर्ने डिपिआर तयार गरेपनि यहाँको बसपार्क स्थानान्तरण नभएसम्म कार्यान्वयन सम्भव छैन । बसपार्क सरेमात्र मन्त्रालयबाट स्रोत(बजेट) सुनिश्चितता हुनसम्भव छ । धरानको बसापार्क सार्नेसहितको तीनकुने सुन्दर बस्ती विकास आयोजना डेढ दशकदेखि विवादले अवरुद्ध छ । उक्त विवाद समाधान गर्न कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले गत बर्षदेखि नै संयोजक भएर पहल गरेपनि निकास भएको छैन ।

कार्यवाहक प्रमुख भण्डारीले भने आयोजनाको समस्या समाधान भइसकेकोले चाडै काम अघि बढ्ने बताइन् । ‘जो जो स्थानीय जग्गादाताहरु मर्कामा पर्नुभएको थियो, उहाँहरुको गुनासो सुन्यौ र अधिकतमसम्म समाधान भइसकेको छ । कसैको बाटो थिएन, दियौ । कसैको जमिन मिलेको थिएन, मिलाउने काम हुदैछ,’कार्यवाहक प्रमुख भण्डारीले भनिन्,‘हामीले न्यायपुर्णरुपका काम गरेका छौ, र उहाँहरुले पनि महसुस गर्नुभएको छ । अब एकपटक वृहत छलफल गरेर माघ पहिलो साता आयोजना अघिबढ्छ ।’ यो आयोजनाको काम अघि बढेपछि भानुचोकको बसपार्क पनि सोही स्थानमा सार्ने र भानुचोकको डिपिआरलाई कार्यान्वयन गर्ने वातावरण तयार हुन उनले बताइन् ।

48417128_1588593777909077_598424742608764928_n