धरान : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वका आकांक्षीहरु बढेका छन् ।

महाधिवेशनको सङ्घारमै नयाँ उमेद्धवारहरु देखिन थालेका छन् । लामो समय धरानमा राजनीति गरेका युवा नेता किशोर राई पनि नगर सभापतिको आकांङ्क्षी देखिएका छन् ।

पूर्व नगर सभापति समेत रहेका उनी पुनः सभापतिमै भिड्ने तयारीमा छन् । हाल मनोनीत जिल्ला सदस्य राई अखिल नेपाल फुटबल सङ्घ(एन्फा) का पूर्व उपाध्यक्ष समेत रहेका राई धरान काँग्रेसको ऊर्जाशील नेताको रूपमा परिचित छन् ।

प्रेस युनियन सँगको भेटघाट कार्यक्रममा राईले कार्यकर्तालाई नेतृत्वको मूल्याङ्कन गरेर मत दिन आग्रह गरे । हालका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर तिलक राईप्रति लक्षित गर्दै उनले नेतृत्वमा पुगेपछि गल्ती मात्र गर्ने र कार्यकर्ताले त्यसको बचाउ गर्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताए ।

यस अघि पनि विज्ञप्ति मार्फत राईले उम्मेदवारी बारे प्रस्ट पारिसकेका छन् । संस्थापन टिमबाट उम्मेदवारी दिन लागेका राई स्वच्छ प्रतिश्प्रधाबाट नेतृत्व चयन हुनुपर्ने बताउँछन् । संस्थापन पक्षबाटै केही दिन अगाडी अजय राईले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

भेटघाटको क्रममा किशोर राईले संस्थापन पक्षबाट एक जना मात्र उम्मेदवार हुने प्रस्ट पारे । आफूहरू बिच बारम्बार छलफल र परामर्श भइरहेकोले चाडैनै एक जना मात्र उम्मेदवार भएको घोषणा गरिने उनले सुनाए ।
धरान बहुजातीय सहर भएकाले जात अनुसारको प्रतिनिधित्व हुने गरी नेतृत्व छनौट गर्न आफू तयार भएको उनले बताए । हरेक टोलबाट नगर समितिमा अटाउने गरी समिति बनाउने तयारी रहेको उनको भनाई छ ।

“म अहिले कार्यकर्ताको घरमा पुगिरहेको छु । जसलाई इच्छा लाग्छ उसैलाई भोट दिनु भन्छु । म भोट माग्ने भन्दा पनि कार्यकर्तालाई महाधिवेशनको ऊर्जा थप्ने काम गरिरहेको छु ।, उनले भने, पहिलाको नेतृत्व मूल्याङ्कन गरेर मत दिनुहोला भन्छु ।”

अहिले धरानमा काँग्रेसले मेयर जितेको छ तर खासै केही परिवर्तनको महसुस गर्न नसकिएको उनले सुनाए । कार्यकर्ताको आन्तरिक जीवनमा पनि काँग्रेसले सहयोग पुर्‍याउनुपर्ने उनको बुझाई छ ।

आफू सभापति निर्वाचित भए कार्यकर्ताको रोजगारी देखि आर्थिक समस्याको समाधान गर्न लागिपर्ने बाचा गरे । धरान काँग्रेसलाई ५ वर्षमा नमुना सङ्गठनको रूपमा देखाउने योजना रहेको उनले सुनाए ।