इटहरी : २०७४ सालमा निर्वाचित भएको केही दिनमै इटहरीका मेयर द्वारिकालाल चौधरीले अङ्ग्रेजी भाषण सुरु गरे । चौधरी टोलमै अङ्ग्रेजी भाषण गरेका उनले विदेश जाने तयारी भन्दै टुटेफुटेको अङ्ग्रेजी मिसाएर केही क्षण बोले । केही दिनमै सार्वजनिक जग्गा खोजबिन अभियान चलाए । त्यसपछि सुरु भयो उनको चर्चाको भोक।

इटहरी पश्चिम लाइनको सिप्रदी ट्रेडिङको भवनले खोला मिचेको भन्दै डोजर दिएर भत्काउन पुगे मेयर चौधरी। भवन नजिकै पैनी सफा गरेर डोजर फिर्ता आयो । यस्तै हर्क तले उनलाई चर्चाको लोभ बढाउँदै लग्यो। 

चर्चामा आउने मुद्दाको बजार भाउ बारे राम्रो जानकार थिए उनी । भ्रष्टाचारको आरोप लगाउँदै २०७६ जेठ ८ गते कर्मचारी माथि हातपात गरे। कार्यकक्षमै बोलाएर उनले भ्रष्ट कर्मचारीलाई तह लगाएको भन्दै कुटे । सोही दिन पत्रकारलाई जवाफ दिन नसकेपछि लोपार्ने सम्मको हर्कत गरे । पछि गल्ती भएको भन्दै माफी मागे। कर्मचारीले मेयर मुर्दावादको नारा लगाएर आन्दोलन नै गरे । भ्रष्ट कर्मचारी कुटेको भन्दै चर्चा बटुल्दै गए। मेयर चौधरीमा चर्चित हुने अभिलाषा झन् भन बढ्दै गयो । कर्मचारीबाट दुःख पाएका जनता उनको समर्थनमा देखिए।

karmachari-aandolan

पत्रकार प्रति निक्कै अनुदार देखिएका उनले धम्कीपूर्ण भाषा प्रयोग गर्न थाले । पत्रकार विराट अनुपमलाई नाकको डाँडी भाँच्न एक करोड छुट्याएको प्रतिक्रिया दिएसँगै उनी काठमाडौँ हानिए । सोही विषयमा सिधा कुरा जनतासँग कार्यक्रममा भ्रष्टाचार विरोधी अभिव्यक्ति दिएर झनै चर्चा कमाए । पत्रकार  र कर्मचारी देखी आजित समूहले उनको पक्षमा माहौल बनाउँदै गयो।

काठमाण्डौका युट्युब देखी ठुला टेलिभिजनले समेत उनलाई प्राथमिकता दिए । घटनालाई मोडेर आफ्नो पक्षमा पार्न सिपालु भइसकेको थिए उनी । त्यो सिपको हेक्का नपाएका जो केहीले उनको कुरामा पूर्ण समर्थन गरे। पत्रकार, कर्मचारी र स्थानीय व्यापारी विरुद्ध गालीगलौजको शैलीमा उत्रिए । दबाब बढ्दै गएपछि पुनः माफी मागे ।

काठमाण्डौबाट इटहरी फर्कँदा उनलाई अभिनन्दन नै भयो । भ्रष्टाचार विरोधी अभियन्ता भनेर हर्षबढाइँ गरियो। यतीसम्मकी हंङ्गकंङ्गमा समेत अभिनन्दन भयो । मेयर चौधरी निक्कै पुलकित हुँदै गए । त्यस बेला सम्म कुनै पनि राजनैतिक दलले प्रतिक्रिया दिन सकेनन् ।

कर्मचारी कुटेको एक महिना नबित्दै सामाजिक सचेतना विषयक कार्यक्रममा ..डी जिन्दाबाद को नारा लगाए । महिलामाथि निक्कै नीच शब्द प्रयोग गर्दै उनले बारम्बार त्यही कुरा दोहोर्‍याए । तर पनि उनलाई कसैले केही गर्न सकेन । पछि उनले केपी ओली र प्रचण्डले समेत आफूलाई केही गर्न नसक्ने भन्दै प्रतिक्रिया नै दिए । पछि यस विषयमा पनि माफी मागे । जुन उनको लागी स्वभावीक प्रक्रिया जस्तै भइसकेको थियो ।

उनको उद्दण्डताले सीमा नाघ्दै जान थालेको थियो । एमालेका स्थानीय नेताहरूले सम्झाउने कोसिस गर्दा कसैको केही लागेन । बरु उल्टै नेकपा एमालेका पूर्व नगर इन्चार्ज तथा खानेपानी संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईलाई झापड हानेको भन्दै उनी आफैले प्रचार गरे । तत्कालीन नेकपाको शपथग्रहण कार्यक्रममा आफूले भ्रष्ट बाहुनलाई झापड हानेको बताए । उनको घरमा खोला मिचेर घर बनाएको भन्दै ७ दिने सूचना टाँस्न लगाए । पछि एमाले नेता भीम आचार्यले दुवै जनालाई हात मिलाउने वातावरण बनाइदिए । अहिलेसम्म न चौलागाईले घर छाडे न कारबाही गर्न सके । यो उनको चर्चित हुने कला थियो ।

उपमहानगरपालिका अगाडीको पान पसल बन्द गरेर उनले अर्को बहादुरी देखाए । पानले फोहोर बनाएको भन्दै पान पसल बन्द गर्न निर्देशन दिए । नजिकैको घुम्ती पसलबाट गुट्खाको झोला नै लगेर जलाइदिएका थिए । कुनै प्रमाण र आधार बिनै कानुन हातमा लिने काममा लागे उनी । शासकले समस्या परेको बेला कानुन हातमा लिन सक्ने प्रतिक्रिया दिएका उनले सोही अनुसार व्यवहार गर्दै आएका छन् ।

Itahari-pan-pasal-

१२ भ्रष्ट कर्मचारी निकाल्ने बताउँदै आएका उनले पछि त्यतीनै सङ्ख्यामा करारका कर्मचारी निकाले । तर विभिन्न बहुबर्ष आयोजनाको नाममा कार्यकर्ता भर्ती सुरु गरे । सिएफएल बल्ब भ्रष्टाचार प्रकरणका दोषी देखिएका कर्मचारीलाई फाँट सरुवा गरेर कायम राख्ने काम गरे । बारम्बार भुमीपुत्रको रटान लगाउने उनी चौधरीका ग्रामथान र पोखरी मासिएको विषयमा कहिल्यै बोलेनन् । चौधरी पोखरीमा माछा पालन गर्ने भन्दै माछाका भुरा हाले । तर अहिलेसम्म एउटा पनि माछा निकालिएको छैन ।

इटहरी-२ को रोयल रिपोर्टले पैनी मिचेको भन्दै संरचना भत्काउन पत्र पठाए । इटहरी-९ मा रहेको डिभिएम स्कुलमा जनता पार्क बनाउने उद्घोष गरे । स्कुलले सार्वजनिक जग्गा ओगटेको भन्दै उनले उपमहानगरले उपयोग गर्ने चेतावनी दिए । दुवै मुद्दा अहिलेसम्म कार्यान्वयन आउन सकेको छैन ।

त्यसपछि खेती खोला सफाइ अभियान चलाएका मेयर चौधरी हाम्रो बोर्डिङको भवन भत्किने भएपछि रोकिएका थिए । स्थानीय अग्रज नेताहरूको लगानी भएको भनिएको बोर्डिङ भत्काउन नसकेपछि उनी पछाडि हटे । खोला र पैनी मिचेर संरचना निर्माण गर्दा हरेक वर्ष इटहरीले डुबानको समस्या भोग्दै आएको छ।

नेकपा एमाले नगर कमिटीको पार्टी कार्यालय पनि पैनीमाथि निर्माण भएको छ । लामो समयदेखि पार्टी कार्यालय बारे प्रश्न उठ्दै आए पनि मेयर चौधरी यसबारे मौन छन् । सार्वजनिक जग्गा खोजबिनमा अभियान चलाएका चौधरी पैनी माथि बनेको कार्यालयको बारेमा जानकार छन् ।

इटहरी-५ स्थित सिमरबना सहकारी संस्थाको भवनले समेत पैनीको आधा क्षेत्र ओगटेको छ । पैनी मिचेर बनाइएको उक्त भवनको नक्सा पास समेत हुन सकेको छैन । इटहरी ८ को नमुना कलेजको अवस्था पनि त्यस्तै छ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पछाडि निजी घडेरी बनाउन खोला मिचिएको छ । त्यस्तै टेङ्ग्रा खोलाको शिर देखी नै विभिन्न संरचना निमार्ण हुँदा खोला खिइँदै गएको छ । पार्क, रिसोर्ट, भवन, राजमार्गको नाममा खोलाको जग्गा मिच्ने गरिएको भए पनि मेयर चौधरी चर्चा हुने काममा मात्र अगाडी बढ्ने गरेका छन् । नीतिगत रूपमा भन्दा पनि व्यक्तिगत रूपमा उपस्थित भएर काम गरेजस्तो देखाउने उनको बानी छ ।

यहीँ साउन २६ गते मंगलबार बिहान इटहरी-१२ मा निमार्णाधिन रिसोर्टको पर्खाल भत्काउन पुगे चौधरी । सार्वजनिक जग्गा मिचिएको भन्दै बिना कागज र प्रमाण पर्खाल भत्काएर फर्किए उनी । भोलिपल्ट (बुधवार) स्थानीय याम प्रसाद ढकाललाई प्रमुख प्रशासकीय अधिकृतको कोठामा थुने ।

खेती खोला किनारमा ऐलानी जग्गा मिचेको भन्दै ७ दिन भित्र घर भत्काउने मेयरले आदेश दिएको ढकालले सुनाए । ‘७ दिनभित्र घर भत्काउँछु भनेर कागजमा हस्ताक्षर गर्नु नभए थुनीदिन्छु’ भनेर मेयरले धम्की दिएको उनले प्रतिक्रिया दिएका छन् । आफू घर भत्काउन तयार नभएपछि थुनिएको ढकालको भनाई छ। उनलाई थुनेपछि मेयर चौधरी गाडी चढेर कार्यालय परिसर बाहिर निस्किए ।

Thune

उता नेपाली काँग्रेस नगर समितिले भने मेयरले आपराधिक गतिविधि गरेको भन्दै भर्त्सना गर्‍यो । पछि काँग्रेस सँगको छलफल पछि मेयर चौधरीले पुनः यस्तो व्यवहार नगर्ने भन्दै माफी मागे । बारम्बार गल्ती गर्ने र माफी माग्ने परम्परा उनले स्थापित गरेका छन् । यसै गरी चर्चा कमाउने भन्ने ध्याउन्नमा छन् मेयर चौधरी । 

krishna-bahab-lpari

mayar-kanda-2