धरान : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा धरान उपमहानगर सभापतिमा श्याम पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । भदौ ८ गते मंगलबार बुथ सभापति देखी काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि सँगको भेटघाटका बिच उनले उम्मेदवारी पेस गरेका हुन् ।

संस्थापन इतर पक्षका एकल उम्मेदवार रहेका उनी एक व्यक्ती एक पदको मुद्दा सहित युवाको मत लिने तयारीमा देखिएका छन् । कपुरी न्युजसँग कुरा गर्दै पोखरेलले आफू समय दिन सक्ने र कार्यकर्ता माझ जुनसुकै बेला उपलब्ध हुने भएकाले सभापतिको लागी उपयुक्त पात्र भएको उनको तर्क गरे । धरान काँग्रेसलाई उदाहरणको रूपमा प्रस्तुत गर्ने गरी सङ्गठन बिस्तार गरिने उनले बताए ।

“एक घर एक काँग्रेस एक टोल एक योजना” सहित सङ्गठन बिस्तार गरेर अगाडी बढ्ने पोखरेलको योजना छ। टोल देखी नै समिति बिस्तार गर्दै सबै युवालाई अवसर दिने गरी सङ्गठनमा जिम्मेवारी बाँडफाँड गर्ने उनको योजना छ । धरानको समस्याको रूपमा रहेको कर, खानेपानी र सुकुम्वासीको समस्या समाधानमा आफू दृढताका साथ लागिपर्ने उद्घोष गरे ।

लामो समय कम्युनिस्टको गढ भनेर चिनिने धरान उपमहानगरपालिकामा २०७६ को उपनिर्वाचनमा नेपाली काँग्रेसले सफलता हात पार्‍यो । काँग्रेसका स्थानीय नेताहरूले सङ्गठन मजबुत भएकाले चुनावी परिणाम आफ्नो पक्षमा आएको बताए । निर्वाचन परिणामको जस लिएर अगामी अधिवेशनमा पनि नेतृत्व लिने कसरत सुरु भएको छ । त्यही दौडमा छन् काँग्रेस नगर सचिव पोखरेल ।

यस अघि संस्थापन पक्षबाट पूर्व नगर सभापति तथा जिल्ला सदस्य किशोर राई र युवा नेता अजय राईले उम्मेदवारी दाबी गरिसकेका छन् । संस्थापन पक्षले सर्वसम्मत उम्मेदवार सार्वजनिक गर्न नसकिरहेको अवस्थामा पोखरेलले आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

डा. शेखर कोइराला निकट रहेका पोखरेल स्थानीय स्तरमा हालका नगर सभापति तथा मेयर तिलक राईका विश्वास पात्र हुन् । मेयरको सचिवालयमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका उनलाई राईले खुलेरै सहयोग गर्ने देखिएको छ ।

काँग्रेसी परिवारमै जन्मिएका उनी ‘भोट दिनु रुखमा भात खानु मुखमा’ भन्ने सुनेरै हुर्किएका हुन् । स्कुल लेवल देखी नै नेबिसंघको राजनीतिमा लागेर पछि महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियूमा ९२ भोटले पराजित भएको उनको अनुभव छ ।

काँग्रेसको नगर सदस्य र नेबिसंघको जिल्ला उपसभापति भएको बेला सङ्कटकालमा धरानबाट पहिलो पटक पक्राउ परेका थिए । धरानमा पार्टीको राजनीति गरेका पोखरेल हाल सभापतिको सशक्त दाबेदार हुन् ।

shyam-pokhrel-ummedwar