इटहरी : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वर्तमान सरकार अपराधीको गठबन्धन भएको बताएका छन्। एमाले मोरङले बिराटचोकमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले माधव नेपालले आफ्नै पार्टीलाई विश्वासको मत नदिएर काँग्रेसलाई सघाएपछि नयाँ राजनीतिक समीकरण सुरु भएको बताए ।

“केपी ओलीले लोकतान्त्रिक ढङ्गले ४० प्रतिशतको सीमा राख्दा विरोध गर्नेहरू अहिले रातारात २० प्रतिशतले दल विभाजन हुने व्यवस्था ल्याउन लागी परे ।,” उनले भने, “यो गठबन्धनमा अपराधीहरू धेरै छन् । नेपाली सुरक्षाकर्मीको टाउकोमा भारतीय सेनाका विमान उठ्दा यो सरकार मौन बसेको छ । विदेशीका सामु घुँडा टेक्ने यो सरकार लाचार भएको छ ।”

फरक प्रसङ्गमा बोल्दै उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रीयहित अनुकूल भए मन्जुर हुने बताएका छन् । एमसीसीलाई संसद्मा टेबल गर्न अनुरोध गर्दै उनले शेरबहादुर देउवा र पुष्पकमल दाहालले गरेको सम्झौता बाहिर नल्याइनु आपत्तिजनक भएको तर्क गरे ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सभामुखलाई टेबलमा भएको सम्झौता संसद्मा पेशगर्न आग्रह गर्दा समेत बेवास्ता गरेको उनको आरोप छ । राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता माथि आँच आउने विषय भने स्वीकार गर्न नसकिने उनको धारणा छ । आफूहरू अमेरिका, भारत, चीन तथा बेलायतको सहयोग लिन तयार भएको बताउँदै उनले त्यसका सर्तहरू राष्ट्र हित अनुकूल भए मात्र मान्य हुने प्रस्ट पारे ।

कानुनी रूपमा २०८९ वैशाख १० भित्र महाधिवेशन गर्न सकिने भए पनि स्थानीय निर्वाचनको समय हुने भएकोले मङ्सिर मै महाधिवेशन गर्न लागिएको उनले प्रस्ट पारे । “हिजोको जस्तो पुरातनबादी एमाले हैन । अब बिकाशित एमालेको स्वरूप देखा परेको छ । यो एमाले नेकपा एकीकरणको शक्ति लाई अगाडि बढाउने एमाले हो । बादल कमरेडको पक्षमा रहने साथीहरूले पनि न्याय पाउनुहुन्छ ।, कार्यकर्तालाई सम्झाउँदै उनले भने, कोही पनि साथी जिम्मेवारी विहीन हुनुहुन्न । समस्यामा परेका साथीहरूको लागी सहजीकरण गर्ने हिसाबमा कमिटी तयार भएको छ । सबैलाई न्याय हुन्छ । सङ्गठन बिस्तारमा लाग्नुहोस् ।”

कार्यक्रममा पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्यहरू लालबाबु पण्डित, भानुभक्त ढकाल लगायतले सम्बोधन गरेका थिए । पार्टी अब एकताबद्ध भएर अगाडी बढ्ने भन्दै उनीहरूले कसैमाथि अन्याय नहुने बताए । प्रदेश १ का मुख्यमन्त्री भीम प्रसाद आचार्यले आगामी निर्वाचन सम्म पार्टी एकता हुने धारणा राखे । कोही साथीहरू असन्तुष्ट भएर बाहिर निस्किएको मात्र भएकाले निर्वाचन सम्म सबै साथीहरू एक ठाउँमा आउने उनको भनाई छ ।

biratchok-bhela