इटहरी : प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आगामी निर्वाचन सम्म एमाले एक हुने बताएका छन् ।

नेकपा एमाले जिल्ला कार्यसमिति मोरङले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले एकता कायम रहने बताएका हुन् ।

एमाले बिभाजन भएपछि बनेको नेकपा (एकीकृत समाजवादी) मा कार्यकर्ताको कुनै आकर्षण नभएको भन्दै उनले अन्ततः एमाले एक हुने धारणा राखे । एमालेमा रहँदा माधव नेपाल निकट मानिएका उनले अझै पनि एकताको सम्भावना कायम रहेको दोहोर्‍याए ।

आफूहरूले १० बुँदे सहमतिमा धेरै मेहनत गरेको बताउँदै उनले प्रतिगामी अध्यादेशको कारण पार्टी विभाजन भएको प्रस्ट पारे । एमाले पार्टी बिगार्न काँग्रेसले अध्यादेश ल्याएको उनको आरोप छ ।

“अहिले पनि केही बिग्रिएको छैन । पुराना कमरेडहरूलाई गाली गर्ने काम नगर्नुहोला। नीति कार्यक्रम, सिद्धान्त सबै हामी सँगै छ ।”

कार्यकर्तालाई आश्वस्त पार्दै उनले भने, “सिद्धान्त बिनाको पार्टी जीवित हुन सक्दैन त्यसैले एकता स्वाभाविक छ। माओवादीमा रहेका साथीहरू पनि एकताबद्ध भएर एमालेमै रहनुहुन्छ । ढुक्क हुनुहोस् ।”