इटहरी : नेपाली काँग्रेसका लडाकु नेता हुन चन्द्रवीर नेम्वाङ। झापामा नेपाली काँग्रेसको सङ्गठन बिस्तारका खम्बा हुन् उनी । ६ दशक पार गरेका नेम्वाङ जवान युवाको जस्तै तर्क गर्छन् । ४ दशक राजनीतिमा बिताएका उनी अहिले व्यवसायी हुने भएका छन् । घर छेवैमा रिसोर्ट सञ्चालनको तयारीमा छन् । नेपाली काँग्रेस पूर्व क्षेत्रीय सभापति रहेका नेम्वाङ सादगी नेताको रूपमा चिनिन्छन् ।

"काँग्रेसको इतिहास परिवर्तन र ऊर्जाको श्रोत हो । तर इतिहास सम्झाएर अब काँग्रेस बन्दैन ।", उनी भन्छन्, "युवा पुस्ताले केही नयाँ काम गर्नुपर्‍यो भन्या ! खाली चाकडी मात्र गरेर देशको पार्टी पनि बन्दैन र देश पनि बन्दैन ।"

“बिपी कोइरालाको बिचार माथि बहस जरुरी छ । महाधिवेशनमा नयाँ नेतृत्व हैन नयाँ बिचार आउनुपर्‍यो । जनता नतिजाको पर्खाइमा छन् । काँग्रेस कता अलमलियो । बिपीको १८ महिने कार्यकाल हेरेर धेरै कुरा सिक्न सकिन्छ । जनताको मुद्दामा प्रवेश नै नगरी राजनीति गर्नु बेकारको कुरा हो," उनले थपे । 

पुस्तान्तरणमा विश्वास राख्ने उनी आफ्नो पुस्ताको पालो सकिएको बताउँछन् । "एकाईसौ शताब्दीमा जातीयता र धर्मको कुरा उठाएर समय बर्बाद गर्नु हुँदैन । आधुनिक जमानामा रुढीवादी कुरा गर्नु बेकार हो ।," उनले भने, “युवा पुस्ताले नयाँ आँट गर्नुपर्ने हो । नभए कसरी बन्छ देश ? खाली चाकडी मात्र गर्ने हो भने त राजतन्त्र थिदैथियो नि ! लोकतन्त्र भनेकै परिवर्तनको सूचक हो । अब युवाले चाकडी छाडेर काम गर्न थाल्नुपर्‍यो ।”

झापामा काँग्रेसको बिउ रोप्ने नेताहरु मध्ये पर्छन् केशवकुमार बुढाथोकी । ७७ वर्ष पुगेको बताउने उनी बिपी प्रतिको उच्च सम्मान व्यक्त गर्छन् । अहिले नेतृत्वमा रहेको पुस्ताले काँग्रेस र देशको लागी अब ठुलो योगदान गर्न नसक्ने उनको विश्वास छ । “क्रमिक विकाशले मात्र जनता सन्तुष्ट हुन सक्दैनन् । एकै पटक र डास्ट्रीक चेन्ज आवश्यक छ । विगतमा काँग्रेसले धेरै एरर गरिसक्यो ।,” उनले भने,

"विपीले भनेजस्तै कम्युनिस्ट सँग मिल्नु ठुलो गल्ती हो । कम्युनिस्टले सहयोग गर्छ भनेर आशगर्दा गिरिजा बाबु राष्ट्रपती बन्न पाएनन् । शेरबहादुर देउवाले माओवादी सँग मिल्न खोज्दा चुनावमा हार बेहोर्नुपर्‍यो ।" 

"बिपीले २०३६ सालमै भन्नु भएको थियो कम्युनिस्ट सँग कदापि एकता नगर्नु यिनीहरू बिश्वासगर्न लायक छैनन् भनेर ।,” विगत स्मरण गर्दै उनले भने, “त्यो बेला हामीले पत्याएनौ । अहिले आएर भोगेपछि थाहा भयो बिपी कति दूरदर्शी रहेछन् ।"

बिपीकै कारण काँग्रेसमा लागेका तेजप्रसाद सिटौला अहिले राजनीतिमा निष्क्रिय छन् । उमेरले ८ दशक पार गरे पनि तेजप्रसादको तेज घटेको छैन । लेख्ने र पढ्ने कामलाई अहिलेसम्म पनि निरन्तर दिइरहेका छन् उनी । हाल मोरङ सुन्दरहरैचा निवासी सिटौलाले नै तेह्रथुममा नेपाली काँग्रेसको बिउ रोपेका हुन् ।

तर अहिलेको काँग्रेसको अवस्था देखेर दिक्क मान्छन् उनी । काँग्रेसको बारेमा चिन्ता गर्ने कोही नभएको उनको बुझाई छ । पूर्व आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका सिटौला राजनीति विकृत बन्दै गएको बताउँछन्। 
"सबै आ-आफ्नो पद र प्रतिष्ठा जोगाउन लागेका छन् । हिजो यातना भोगेका नेताहरू पनि सत्ताको लडाइँमा लाग्दा मन दुख्छ ।," आक्रोशित मुद्रामा उनले भने, "देश आर्थिक रूपले जर्जर भइसक्यो । सामाजिक रूपमा विभाजित हुन थालिसक्यो । अझै सत्ताकै खेल गरिरहेका छन् । बिपीको पार्टी भन्दा पनि लाजमर्दो हुन थाल्यो । अब बिपी बिचारमाथि बहस गरेर अगाडी बढ्ने बेला भइसक्यो ।"