इटहरी : नेपाली काँग्रेस इटहरीको १४ औँ नगर अधिवेशन भदौ २७ गते तय भएको छ । क्रियाशील सदस्यबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले मात्र मतदान गर्न पाउने भएपछि पटकको अधिवेशन थप रोचक भएको हो । हालसम्मको अवस्था हेर्दा उपमहानगर समितिको नेतृत्वमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

पार्टी संस्थापन पक्षका विकास केसी नगर सभापतिका एक दाबेदार हुन् । हालका नगर सभापति हेमकर्ण पौडेल तेस्रो कार्यकालको लागी सभापतिमा दाबी गरिरहेका छन् । साबिकको इटहरी नगरपालिका हुँदा १२ औँ अधिवेशनमा पौडेल सर्वसम्मत सभापति भएका थिए । १३ औँ अधिवेशनमा केसीलाई पराजित गर्दै सभापति निर्वाचित भए ।

यस पटकको अधिवेशन उनको लागी प्रतिष्ठाको लडाई हो । पौडेल नेतृत्वकै समितिका सचिव प्रकाश बस्नेतले समेत सभापतिमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । केसी र बस्नेतले नेतृत्व परिवर्तनको एजेन्डा सहित प्रतिनिधि समक्ष भोट मागिरहेका छन् । पौडेलले इटहरी काँग्रेसलाई स्थानीय निर्वाचनमा विजयी गराउन आफू सभापति हुन लागेको दाबी गरेका छन् ।

हेमकर्ण पौडेल

Hemkarna-Poudel-1

नगर सभापति पौडेल इटहरी काँग्रेसका शक्तिशाली उम्मेदवार हुन । दुई कार्यकाल सभापति भइसकेका पौडेल सम्पूर्ण सदस्यमाझ परिचित छन् । वाक पटुताको कारण उनी क्षणभरमै कार्यकर्तालाई आफ्नो पक्षमा पार्ने क्षमता राख्छन् । तर यस पटक क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने भएपछि पौडेलको लागी चुनौती थपिएको छ ।

यसअघि महाधिवेशनको तयारीका क्रममा आफू नगरमा नउठ्ने बताउँदै पौडेलले अब नयाँ पुस्तालाई मार्गप्रसस्त गर्ने बताएका थिए । हाल उनी आफै पुनः सभापति उम्मेदवार हुँदा त्यसलाई सेन्टीमेन्ट बुझ्ने रणनीतिका रूपमा लिइएको छ । पछिल्लो समय रणनैतीक रूपमा कार्यकर्ता माझ पुगेका उनी स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई विजयी गराउने मुद्दा उठाएका छन् । आफू सभापति नभए मेयरको लागी सिफारिसमा नपरिएला भन्ने उनको बुझाई छ । बलियो धरातल भएको एमाले विभाजन भएको र त्यस भित्रपनि आन्तरिक समस्या देखिएको कारण काँग्रेसले जित्न सक्ने बुझेका पौडेल सभापति सहित मेयर हुने दाउमा छन् ।

तर उनको सभापतिको उम्मेदवारी यस पटक त्यति सहज भने छैन । आफ्नो पक्षमा लागिपरेका नेता कार्यकर्तालाई बेवास्ता गरेको भन्दै युवापङ्ती उनी सँग असन्तुष्ट छ । त्यसको प्रतिकार स्वरूप उनका सचिव प्रकाश बस्नेतले छुट्टै उम्मेदवारी दाबी गरेका छन् । उनको नजिक मानिएका सूर्य राई सहितको समूहले आफूहरूलाई प्रयोग मात्र गरेको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि जनाए ।

यस बिचमा केसीले चालेको सक्रियता पनि उनको लागी ठुलो चुनौती हो । केसीले स्थानीय कार्यकर्तालाई आफू एक पटक मात्र सभापति हुने र स्थानीय तहमा काँग्रेसलाई जिताउने सङ्कल्प लिएका छन् । त्यसंगै विजय कुमार गच्छेदारको समर्थनलाई समेत अर्थपूर्ण रूपमा हेरिएको छ । गच्छदार निकट मानिएका सह-सभापती कार्कीले पौडेललाई समर्थन गर्ने भए पनि गच्छदार निकट मानिएकी कल्पना चौधरीले केसीलाई समर्थन गर्ने बताएकी छिन् । जसले गर्दा पौडेल माथि थप चुनौती खडा गरेको छ । भर्खरै सम्पन्न क्षेत्रीय प्रतिनिधिको निर्वाचनमा पनि केसी पक्ष बलियो देखिएको छ । तथापि केसी पक्षबाट क्षेत्रीय प्रतिनिधि भएको कार्यकर्ताहरू पौडेल निकट देखिएका छन् ।

सबैभन्दा धेरै मतदाता रहेको ४, २० र ६ नम्बर वडामा उनी कमजोर देखिएका छन् । बाँकी वडामा पनि केसीको बलियो उपस्थिति छ । छोटो समयमै कार्यकर्तालाई आफूमा तान्न सक्ने क्षमता भएका पौडेलले आफ्नो मत परिणाम आफ्नो पक्षमा पार्न कोसिस जारी राखेका छन् । बाँकी २ दिनको भूमिकाले उनको राजनैतिक भविष्य निर्धारण गर्ने देखिएको छ । पहिलो पटक सर्वसम्मत र दोस्रोपटक भारी मतले निर्वाचित उनलाई यस पटक पनि जित्नै पर्ने दबाबमा छ । सभापति पराजित भए उनको राजनैतिक यात्रामा ठुलो धक्का लाग्ने देखिन्छ । त्यसैले १४ औँ अधिवेशनमा पौडेलको उम्मेदवारी प्रतिष्ठाको विषय भएको छ ।

विकाश केसी

bikash-KC-2

नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय उपसभापति केसी तेह्रौँ अधिवेशनमा नगर सभापति पराजित भएका हुन् । पौडेल सँगै पराजित भएका उनी पुनः सभापतिको उम्मेदवार भएका छन् । संस्थापन पक्षका एक्ला उम्मेदवार केसी आफ्नो कार्यकाल ऐतिहासिक बनाउने दाउमा छन् । लामो समय कम्युनिस्टको गढ रहेको इटहरीमा काँग्रेसलाई विजयी गराउने सङ्कल्पका साथ उनी मैदानमा छन् । मेयर पदका उम्मेदवार रोहित प्रसाईँ र नेबिसंघका केन्द्रीय सभापति राजीव ढुङ्गाना सहित उनी कार्यकर्तामाझ पुगिरहेका छन् । प्रसाईँ काँग्रेस नेता गच्छदार निकट मानिन्छन् । गच्छदारको समूहले केसीलाई समर्थन गर्ने भएपछि उनको सम्भावना बलियो हुँदै गएको छ । प्रसाईँ आफै मेयर पदको उम्मेदवारी दोहोर्‍याउने योजनामा रहेकोले केसीको विजयले आफूलाई सहज हुने उनको बुझाई छ ।

पौडेल सँग असन्तुष्ट समूह पनि केसी सँग जोडिएको छ । क्षेत्रीय प्रतिनिधिको अङ्कगणितमा आफ्नो पक्षमा भएको बुझेका उनी सभापति निर्वाचित हुनेका ढुक्क देखिन्छन् । नेबिसंघ पूर्व सभापति केसीलाई हालका सभापति ढुङ्गानाको साथ छ । ढुङ्गानाको टिम र वडा पनि एउटै भएको कारण केसीलाई विजयी गराउनुपर्ने दबाबमा छन् उनी । टिम बलियो बनाउनुपर्ने बाध्यताका बिच आन्तरिक पार्टी भित्रको प्रतिष्ठा कायम राख्न पनि केसीलाई जित्नै पर्ने बाध्यता छ ।

उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेल पनि मेयरको लागी आकाङ्क्षी देखिएका छन् । केसीले मेयरमा दाबी नगर्ने बाचा गरेसँगै उनको सपोर्टमा मेयर हुने दाउमा छन् पौडेल । इटहरीको राजनीतिमा भर्खरै उदाउँदै गरेका पौडेलले दह्रो साथ खोजी रहेका छन् । केसीलाई विजयी गराए आफू साथ पाउने उनको विश्वास छ ।

प्रकाश बस्नेत

Prakash-Basnet-1

बस्नेत काँग्रेस नगर सचिव हुन् । पौडेल पछिको उत्तराधिकारी दाबी गर्दै आएका उनी अहिले एक्ला उम्मेदवार भएका छन् । १३ औँ महाधिवेशनमा हाल वडा नम्बर ३ का वडाध्यक्ष बालकृष्ण विष्टलाई पराजित गरेका उनले सभापतिमा उम्मेदवारी दाबी गरेका हुन् ।

साबिकको पकली गाविस सचिवको समेत जिम्मेवारी सम्हाली सकेका उनले आक्रामक प्रचार अगाडी बढाएका छन् । वडा नम्बर १६, १७, १८, १९ र २० मा उनको प्रभाव छ । क्षेत्रीय प्रतिनिधिले मात्र मतदान गर्न पाउने भएपछि उनलाई समस्या परेको छ । दुई लाइनमा लागेपछि क्षेत्रीय प्रतिनिधि भएका कार्यकर्ताले बस्नेतको तेस्रो धारलाई समर्थन गर्ने सम्भावना कम छ ।

जसको फाइदा पौडेल पक्षलाई बढी हुने देखिएको छ । बस्नेतको पक्षमा खुलेर लागेका प्रतिनिधिलाई पौडेलले आफूमा केन्द्रित गराउने सम्भावना भएकोले उनको उपस्थिति कमजोर देखिएको हो । आफू सभापतिमा विजयी नभए पनि आफ्नो उम्मेदवारी फिर्ता नहुने अडानमा छन् बस्नेत ।

उनको पक्षमा लागिपरेका नेपाल विद्यार्थी सङ्घ पूर्व केन्द्रीय सदस्य सूर्य राई आफै केसी पक्षको समर्थनमा क्षेत्रीय प्रतिनिधि भएका छन् । युवा पुस्तालाई प्रयोग मात्र गर्ने तर नेतृत्वमा नपुर्‍याउने गलत प्रवृत्तिका विरुद्ध आफू अगाडी बढेको उनको भनाई छ ।