धरान : सङ्खुवासभाको मादी सामूहिक हत्या प्रकरणको अनुसन्धान सुधारोन्मुख रहेको अनुसन्धानमा रहेको प्रहरीको दाबी छ ।

गएको सोमबार एकै घर परिवारका ६ जनाको सामूहिक हत्या भएको ५ दिन बित्दा पनि प्रहरीले अपराधी पक्राउ गर्न नसकेको भनिरहेको बेला प्रहरीको अनुसन्धानले केही क्लु फेला पारेको प्रहरी स्रोतले बताएको छ ।

प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसी स्यंम् घटनास्थलमा पुगेर अनुसन्धानमा खटिइरहेका छन् । घटना भएकै दिन सङ्घीय इकाई प्रहरी कार्यालय धरानबाट तालिम प्राप्त कुकुर सहित एसपी भीमबहादुर दाहालको विशेष टिम, सङ्खुवासभा प्रहरी निरन्तर घटनास्थलमा अनुसन्धानमा खटिएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली समेत घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

घटना घटेको ५ दिन बितिसक्दा पनि प्रहरी अनुसन्धान मात्रै जारी रहेको खासै उपलब्धि नभइरहेको बेलामा विभिन्न सञ्चारमाध्यममा केही व्यक्ति पक्राउ गरिएको कुरा बाहिर आए पनि यसलाई प्रहरीले भने पुष्टि गरेको छैन ।

स्थानीयवासीले भने प्रहरीले अनुसन्धान जारी राखेको र केही व्यक्तिहरूलाई बयान लिने क्रम जारी रहेको र केहीलाई नियन्त्रणमा लिएको बताएका छन् ।

यस विषयमा घटनाको पहिलो दिन देखि निरन्तर घटनास्थलमा अनुसन्धानमा खटिरहेका एसपी भीमबहादुर दाहालले भने अनुसन्धान सुधारोन्मुख भएको बताएका छन् ।

अनुसन्धानका थुप्रै पाटोहरू रहेको भन्दै विभिन्न कोणबाट अनुसन्धान भइरहेकोले अपराधी पक्राउ नगरी घटनास्थलबाट प्रहरी नफर्कने उनले बताए ।