धरान : नेपाली काँग्रेस धरान उपमहानगर समितिको चुनावमा उम्मेदवारी सार्वजनिक गर्नेमा आज शेर बहादुर देउवा पक्षका सभापतिका प्रत्याशी किशोर राईको प्यानलले उम्मेदवारी घोषणा गरेको छ । धरान-१२ को गीता भवनमा आयोजित उम्मेदवारी घोषणा सभामा काँग्रेस नगर सभापतिमा किशोर राई सहित उनको प्यानलले उम्मेदवारी घोषणा गरेका हुन ।

नेपाली काँग्रेस धरान उपमहानगर समितिको सभापतिमा किशोर राई, उपसभापति महेन्द्र तामाङ र राजकुमार थोप्रा (लिम्बू), सचिवमा रुक्मिणा गौतम (कोपिला) र सुमन श्रेष्ठ, सह-सचिव कमला रुचाल र गोपाल कार्की आधिकारिक उम्मेदवार घोषित भएका हुन ।

कोषाध्यक्षमा भने नगरबाट चुनिएर आएका मधेसी, मुस्लिम तथा थारु प्रतिनिधि मध्येबाट एक जनालाई मानोनित गरिने सभापतिका प्रत्याशी किशोर राईले जानकारी दिए । काँग्रेसको विधान अनुसार कोषाध्यक्ष र कार्यसमिति सदस्यहरू वडाबाटै प्रतिनिधित्व गरी आउने छन् । काँग्रेसको निर्वाचन कार्यपालिका अनुसार नगरपालिका तहको चुनाव असोज ९ गते हुँदै छ ।

सभापतिका आधिकारिक उम्मेदवार घोषित किशोर राईले आफ्नो टिमको समावेशी, जुझारु र ऊर्जावान् भएकाले सुनिश्चित रहेका बताए । उनले आफ्नो टिमको जितपछि धरानमा सबै चुनावमा जित सुनिश्चित हुने गरी सबैलाई समेटेर काम गर्ने बताए । उम्मेदवारी घोषणा कार्यक्रममा उनले आफ्नो लिखित प्रतिबद्धता समेत सार्वजनिक गरे ।

आगामी असोज ९ गते सम्म आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने बताउदैं आफ्नो टिमका सबैको सम्पत्ति विवरण सार्वजनिक गर्ने बताए । जित पछि नेपाली काँग्रेस धरानको अझै ठुलो पार्टी कार्यालय बनाउने र हरेक वडामा पनि आफ्नै वडा भवन बनाउन प्रारम्भ गरिने बताए ।

प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद मीन विश्वकर्माले किशोर राईको नेतृत्वमा सशक्त उम्मेदवारहरू चयन गरिएको बताए।

सङ्घीय सांसद मिना सुब्बाले घोषित उम्मेदवारहरूलाई धराने काँग्रेस सबैको समर्थन र सहयोग रहेकाले अत्यधिक बहुमतले जिताउन आग्रह गरिन। घोषणा कार्यक्रममा १ नं प्रदेशका पूर्व प्रदेश प्रमुख गोविन्द सुब्बा, क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, लक्ष्मी खतिबडा, विनोद राई, अजय राई लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

kishor-pannel-2