उर्लाबारी : उर्लाबारी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा नेकपा एमाले समर्थित शेरबहादुर भण्डारी निर्वाचित भएका छन् । काँग्रेस समर्थित तारामान सिरेङ लिम्बू पराजित भएका छन् ।

हिजो सम्पन्न मतगणना अनुसार मतगणना अनुसार प्रगतिशील साझा प्यानलबाट उम्मेदवार बनेका भण्डारीले ७८९ मत ल्याएर विजयी भएका हुन् भने अध्यक्षका प्रतिस्पर्धी लोकतान्त्रिक प्यानलका लिम्बूले ६३० मत प्राप्त गरे।

मत परिणाम अनुसार १३ सदस्यीय कार्यसमितिमा प्रगतिशील साझा प्यानलबाट अध्यक्षसहित ७, लोकतान्त्रिक प्यानलबाट ५ र स्वतन्त्र १ जना निर्वाचित भएका छन् ।

लेखा समितिमा दुई जना लोकतान्त्रिक र १ जना प्रगतिशील साझाका उम्मेदवार विजयी भए । सङ्घको वरिष्ठ उपाध्यक्षमा यमलाल रसाइली १ मत अन्तरका साथ विजयी भए । रसाइलीले ६७५ ल्याउँदा प्रतिस्पर्धी दिलबहादुर श्रेष्ठले ६७४ मत मात्र पाए ।

उद्योग उपाध्यक्षमा जङ्गबहादुर कार्की ८३७ मतका साथ विजयी बन्दा उनका प्रतिद्वन्द्वी रामप्रसाद धिमालको पक्षमा ४७२ मत प्राप्त भयो । यस्तै, वाणिज्य उपाध्यक्षमा निर्मला चौहान ८०७ मत मत विजयी बन्दा उनका प्रतिस्पर्धी पवन चौधरीले ५४६ मत प्राप्त गरे । सङ्घको महासचिवमा हेमराज गुरुङ ६८३ मतका साथ विजयी हुँदा महासचिव पदकी उम्मेदवार सम्झना खतिवडा आचार्यको पक्षमा ६७० मत प्राप्त भयो ।

उद्योग सचिवमा डिल्लीराम खतिवडा निर्वाचित भए । ७१५ मत ल्याउनु भएका खतिवडाका प्रतिस्पर्धी पूर्ण सिंगक लिम्बूले ६१६ मत प्राप्त गरे । यस्तै, वाणिज्य सचिवमा ७३८ मतका साथ भेषबन्धु निरौला विजयी भए । उनका प्रतिस्पर्धी यज्ञबहादुर बस्नेतले ५८२ मत ल्याए । कोषाध्यक्षमा राजन दाहाले ७०९ मत सहित विजयी बन्दा प्रतिस्पर्धी कृष्णराज गिरीले ६१२ मत प्राप्त गरे ।

कार्यसमिति सदस्य पदमा स्वतन्त्र उम्मेदवार गोपाल भण्डारी सर्वाधिक मतका साथ विजयी भएका छन् । उनले ९१९ मत प्राप्त गरे । यस्तै कार्यसमितिका अन्य सदस्यमा नित्तम चौहान ७३०, नुतन राई पिके ६३३, राजकुमार श्रेष्ठ ५९२ र दशरथ यादव बेचन ५३८ मत ल्याएर विजयी भए । यस्तै, लेखा समिति संयोजकमा लोकतान्त्रिक गठबन्धनका गणेश खत्री निर्वाचित भए । उनले ६६१ मत ल्याउँदा प्रतिस्पर्धी गजेन्द्र भण्डारीले ६११ मत प्राप्त गरेका छन्।

लेखा समिति सदस्यमा राधिका काफ्ले ६८८ र रोशन घिमिरे ६४४ मतका साथ विजयी भएका छन् । कार्यसमितिमा महासचिव सहित ५ पदमा काँग्रेस निकट व्यवसायी विजयी भए भने अध्यक्षसहित ४ जना एमाले समर्थक विजयी भएका छन्। वरिष्ठ उपाध्यक्षसहित २ जना माओवादी केन्द्र निकटको विजयी भयो।

त्यस्तै, उद्योग उपाध्यक्षमा राप्रपा र एक जना स्वत्रन्त्रले सदस्य पद जितेका थिए । लेखा समितिमा काँग्रेसका दुई र एक जना माओवादी केन्द्रका रहेका छन् ।