धरान : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले धरानलाई सुन्दर र पर्यटकीय सहरकोरुपमा विकास गर्न सर्दु र सेउती कोरिडोरको योजना अघि बढेको बताएका छन् ।

धरान-१७ को धरान चतरा सडक खण्ड नजिकै सर्दु खोलामा सर्दु कोरिडोरको शिलान्यास गर्दै मुख्यमन्त्री आचार्यले सो कुरा बताएका हुन् ।

उनले तटबन्धको योजना मात्र नभएको बताउँदै महत्त्वपूर्ण पर्यटकीय स्थलको रूपमा विकास गर्ने परिकल्पना रहेको बताए । मुख्यमन्त्री आचार्यले कोरिडोरमा पर्ने घर परिवारलाई बिचल्ली नपार्ने आश्वासन दिँदै स्थानीय सरकारसँग समन्वय गरेर सुरक्षित ठाउँमा जमिन उपलब्ध गराउने र नयाँ घर निर्माण गर्न प्रदेश सरकारले प्रतिघर ५ लाख रुपैयाँ सहयोग गर्ने पनि बताए।

प्रदेश सरकारअन्तर्गतको जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय सुनसरीले यो कोरिडोर निर्माण गर्न लागेको हो। उक्त कार्यालयका प्रमुख चूडाराज ढकालका अनुसार कोरिडोर निर्माणको लागि कुल १९ किलोमिटरको डिपिआर बनेको छ । त्यसमध्ये धरान चतरा सडक खण्डबाट उत्तरतर्फको ८ किलोमिटर क्षेत्र पर्छ । त्यसमध्ये पहिलो चरणमा ५ किलोमिटर कोरिडोर बनाउन शिलान्यास भएको हो । सर्दु कोरिडोर वडा नं १७, ११, १६ र १३ वडासम्म निर्माण हुनेछ।

सभामुख प्रदीपकुमार भण्डारीले पनि सुकुम्वासी बस्तीलाई उठिबास नहुने गरी योजना अघि बढाइने बताएका छन्। उनले गुणस्तरीय निर्माण गर्नको लागि सबैले सहयोग गर्नुपर्ने पनि बताए । साथै बाढी र पहिरो नियन्त्रणमा पनि पहल गर्ने बताए ।

यसै गरी धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले सहरको लागि खोला अभिशाप मात्र नभै वरदान पनि हो भन्ने प्रमाणित गर्ने गरी कोरिडोर योजना अघि बढाइएको बताइन् । कोरिडोरमा तटबन्ध, हरियाली पार्क र बस्तीलाई उचित व्यवस्थापन गर्ने उनले बताइन् ।