धरान : परिवर्तनका लागि सामाजिक अभियानले मुटु रोग सम्बन्धी सामाजिक स्वास्थ्य क्लिनिक कार्यक्रम शनिवार सम्पन्न गरेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहले निःशुल्क रूपमा जाँच गरेको उक्त स्वास्थ्य क्लिनिकमा धरान र धरान बाहिरबाट आएका ७० वर्ष माथिका २० जनालाई जाँच गरिएको थियो ।

७० वर्ष काटेका बुवाआमाहरुलाई अस्पतालको भिडमा उभिन गाह्रो हुने र वहाँहरूलाई सजिलो होस् भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए । परिवर्तनका लागि सामाजिक अभियान सबैको साझा अभियान भएको र यसले सामाजिक कार्य सँगसँगै विशेष गरी स्वास्थ्य र शिक्षा सम्बन्धी कार्यक्रमहरू गर्ने अध्यक्ष बरालले बताए ।

गम्भीर प्रकारका रोग लागेता पनि करिब डेढ वर्ष अघिदेखि अस्पतालमा नगई घरमै बसेका बिरामीहरू समेत यस कार्यक्रममा जाँच गर्न आएर लाभान्वित भएका थिए ।

७० वर्ष माथिका ज्येष्ठ नागरिकहरूका लागि आयोजना गरिएको सो कार्यक्रम निकै फलदायी भएको डा. प्रशान्त शाहले बताए । डा. शाहले भने “धेरै जना बिरामीहरू कोभिडको कारणले पनि हुनसक्छ, लामो समयदेखि अस्पताल नआई घरमै बस्नु भएको पाइयो, आजको कार्यक्रमबाट वहाँहरूमा आफ्नो स्वास्थ्य सम्बन्धी सचेतना पक्कै पनि बढ्छ भन्ने मैले विश्वास लिएको छु” ।

कार्यक्रमका संयोजक त्रिभुवन बरालले यो कार्यक्रम पाक्षिक रूपमा सञ्चालन हुने बताए । परिवर्तनका लागि सामाजिक अभियानका अभियानकर्मीहरू विदुर थापा, वर्षा श्रेष्ठ अग्रवाल, भोजराज श्रेष्ठ, मोहन श्रेष्ठ, प्रशान्त बंशल, जेनिस शाक्य, त्रिभुवन बराल, ज्योति आचार्य लगायतको सहभागिता रहेको उक्त कार्यक्रम धरान मोडल कलेजको हाताभित्र सञ्चालन भएको थियो ।

त्यसै गरी आफ्नो आमाको मुटु जाँच गराउन लिएर आएका धरान-१५ निवासी विशाल भण्डारीले यो कार्यक्रमले आमाबुवाहरूलाई निकै नै सजिलो भएको र आयोजक संस्थालाई धन्यवाद ज्ञापन गरे ।