भूमिका :

नेपालमा मात्र होइन विश्वभर नै जनगणना हुने गर्दछ। नेपालमा हरेक १० वर्षमा जनगणना हुने गरेको छ। नेपालमा जनगणना वि.सं. १९६८ (सन १९११) देखि सुरु भयो ।

बि.सं. १९६८ (सन १९११) मा भएको पहिलो जनगणना अनुसार नेपालको त्यस बेलाको जम्मा जनसङ्ख्या ५६ लाख ३८ हजार थियो । जनगणनाले देशको जनसङ्ख्यालाई अपडेट गर्दछ भने देशको समग्र नक्सा तथा स्थितिलाई देखाउने काम गर्दछ। यसबाट देशको विकास तथा सम्बृद्धिलाई अघि बढाउन योजना तथा कार्यक्रमहरू बनाउन सहयोग पुग्छ ।

बि.सं. १९६८ (सन १९११) देखि १९९८ (सन १९४१) सम्मका जनगणनाले सामाजिक, सांस्कृतिक तथा आर्थिक तस्बिरहरू वैज्ञानिक ढङ्गले राम्ररी लिएको थिएन। बि.सं २००८ (सन १९५१) र २०१८ (सन १९६१) को जनगणनामा हिन्दु धर्मवालाको सङ्ख्या क्रमशः ८८.८ प्रतिशत र ८७.६ प्रतिशत देखाइयो । फलस्वरूप २०१९ (सन १९६२) को नेपालको संविधानबाट हिन्दु धर्मलाई राज्यको धर्म बनाएर नेपाललाई हिन्दु राज्य बनाइयो ।

पहिलो जनगणनाको ७० वर्ष पछि अर्थात् २०३८ (सन् १९८१) सालमा नेपालको जम्मा जनसङ्ख्या करिब १ करोड ५० लाख, २०४८ साल (सन् १९९१) मा करिब १ करोड ८४ लाख, २०५८ (सन २००१) मा २ करोड ३२ लाख र २०६८ (सन २०११) मा जम्मा जनसङ्ख्या २ करोड ६५ लाख पुग्यो । यसमा लिम्बुको जनसङ्ख्या ३८७,३०० अर्थात् नेपालको जम्मा जनसङ्ख्याको १.४ प्रतिशत रहेको छ । किरात धर्मलम्बीहरुको सङ्ख्या ३ प्रतिशत रहेको छ ।

नेपालमा जनगणना र राजनीति :

नेपालमा जनगणनाको सुरुवाती उद्देश्य जनसङ्ख्याको तथ्याङ्क थाहा पाउन गरिए पनि पछिल्ला जनगणनाहरूलाई सामाजिक-सांस्कृतिक-धार्मिक राजनीतिको लागी आधार बनाउनै लगियो ।

जनगणनाले तथ्याङ्क, अस्तित्व र सङ्ख्याको राजनीति गर्दछ भने तिनको आधारमा त्यसले देशको राजनीतिलाई प्रभावित गर्दछ । जनगणनाको प्रश्नावली तथा जनगणना गर्ने तरिकाले के हेर्न र गर्न खोजीएको हो भन्ने थाहा लाग्छ ।

गणकले सोध्ने प्रश्नावलीमा व्यक्तिको मातृभाषा थाहा पाउन ’तपाई कुन भाषा बोल्नु हुन्छ ?’ भन्ने प्रश्न गरिए उसले सहजरुपमा नेपाली भाषा बोल्छु भन्ने उत्तर दिन्छ । त्यसले उसको मातृभाषा नेपालीमा गणना गराउँछ । तर ’तपाई परिवारमा कुन भाषा बोल्नु हुन्छ ?’ भन्ने प्रश्न गरिए त्यसको उत्तर उसले परिवारमा बोल्ने मातृभाषाको नाम दिन्छ ।

यसै गरी, जनगणनाको प्रश्नावलीमा ८-९ वटा धर्मको नाम र अन्य धर्म भन्ने राखिएको हुन्छ । ती नामहरू राख्दा सुरुमा हिन्दु, त्यसपछि बौद्ध अनि क्रिश्चियन राखेको अवस्थामा ‘तपाई कुन धर्म मान्नु हुन्छ ?‘ भन्ने प्रश्नको उत्तरमा उसले सजिलोको लागी हिन्दु मान्छु भन्छ ।

यदि धर्मबारे स्पष्ट जबाफ नआए गणकले शिव या दुर्गाको पूजा गर्नु हुन्छ भनेर प्रश्न गर्दछ । त्यसको उत्तरमा गर्छु भन्ने जबाफ आए गणकले उसलाई हिन्दुमा राखी दिन्छ । यस्ता म्यानुपुलेसन गर्ने प्रश्नहरू जनगणनाको प्रश्नावलीमा धेरै पाइने गरेको छ । जनगणनाको प्रश्नावलीमा यस्तो म्यानुपुलेसन गर्ने काम यो भन्दा अघि पटक पटक भएको छ ।

उदाहरणको लागी २०५८ र २०६८ को जनगणनामा यस्ता पूरक प्रश्नहरू बनाई गणकहरूलाई तालिम दिइएको थियो । यसरी अहिलेसम्म जनगणनामा शासन सत्तामा पकड भएका उपनिवेशकारी अभिजातिय जत्थाले राजनीति गर्दै आइरहेका छन् ।

जनगणनामा भएको यस्तो राजनीतिबाट आउने तथ्याङ्कले हालसम्म भइरहेको राज्य सञ्चालन देखि राज्यको विभिन्न क्षेत्रमा प्रतिनिधित्व र बर्चस्प सम्मलाई प्रामाणिक गर्न कोसिस गर्ने काम भएको छ ।

जस्तो कि ८० प्रतिशत भन्दा बढी हिन्दु धर्मावलम्बी भएको र ८० प्रतिशत भन्दा बढी नेपाली भाषी भएको देखाएर आजसम्म जुन बर्चस्पको राजनीति भइरहेको छ त्यसले अरूलाई मनोवैज्ञानिक असर तथा प्रभाव पार्छ, हतोत्साहित बनाउँछ र त्यतातिर जान उत्प्रेरणा दिने काम गर्दछ ।

यसर्थ, अभिजातिय वर्गका शासकहरूले जनगणनामा हिन्दु धर्म र नेपाली भाषालाई हरतरहले अत्यधिक देखाउन कोसिस गरेका हुन्छन् । केन्द्रीय तथ्याङ्क विभागका अनुसार सन् २००१ को जनगणनाले आदिवासी जनजातिको जम्मा जनसङ्ख्या लगभग ३८ प्रतिशत देखाएको थियो भने सन २०११ को जनगणनाले त्यो सङ्ख्या करिब ३६ प्रतिशतमा ओराल्यो । सन् २००१ देखि सन २०११ बिच १० वर्षको अवधिमा आदिवासी जनजातिको जनसङ्ख्या करिब १.५ देखि २ प्रतिशत जनसङ्ख्या घटेको देखाइयो जब कि देशको जम्मा जनसङ्ख्या भने लगभग १४ प्रतिशतले बढेको देखाइएको छ ।

खास जाति समूहको जनसङ्ख्या घट्नु र बढ्नुले देशको राज्य निकायहरूमा हुने समानुपातिक प्रतिनिधित्वमा सोझै फरक पार्दछ । यसै गरी मातृभाषा बोल्नेहरूको सङ्ख्या कम हुनु या देखाइनुले २ वटा कुराको विश्लेषण गर्न सजिलो बनाउँछ ।

पहिलो हो, विभिन्न भाषा भाषीहरू नेपाली भनिएको खस नेपालीमा विलय भइसकेको देखाउँछ भने दोस्रो मातृभाषा बोल्नेहरू नै नभए पछि मातृभाषालाई मान्यता दिने र त्यसको लागी राज्यको लगानी तथा श्रोत खर्च गर्ने सम्बन्धमा किन राज्यको लगानी तथा स्रोत खर्च गर्ने भन्ने प्रश्न जन्माउँछ ।

यति मात्र होइन जनगणनाले खास मानव समूहको अस्तित्वलाई समाप्त गर्नको लागी पनि काम गर्छ । यसको उदाहरण नेपाल र भारतमा भएको विभिन्न समयको जनगणनालाई लिए पुग्छ । सन् १८७१ देखि सन् १९५१ सम्ममा भारतमा भएको जनगणनामा विभिन्न तस्बिरहरू देखिन्छ । Tribal Religion in India शीर्षकमा विकीपेडियाले जनाए अनुसार ती जनगणनामा भारतका आदिवासीहरूले मान्ने धर्मलाई सन् १८७१, १८८१ र १८९१ को जनगणनामा एबोरिजिन, सन् १९०१, १९११ र १९२१ को जनगणनामा एनेमिष्ट र सन् १९३१ को जनगणनामा ट्राईबल धर्म र सन् १९४१ को जनगणनामा ट्राईब समुदाय भनेर उल्लेख गर्‍यो जो १२ प्रतिशत थियो ।

सन् १९५१ मा भएको जनगणनाले आदिवासीहरूको धर्मको महल खाली राखी दियो अर्थात् ट्राईबल धर्मको महल उल्लेख नगरी शून्य बनाई दियो । अर्कोतिर हिन्दु धर्मको सङ्ख्या सन् १९४१ मा ८७ प्रतिशतबाट बढेर सन् १९५१ मा ९० प्रतिशत पुगेको देखायो । त्यसले भारतमा हिन्दु राजनीति र अघोषित हिन्दु राज्यको मान्यतालाई अगाडी बढाउने काम गर्‍यो ।

नेपालकै जनगणनको उदाहरण लिने हो भने बि.सं. २००८/९ (सन १९५१) सालमा हिन्दुको सङ्ख्या ८८.८ प्रतिशत थियो भने २०१८ (सन १९६१) जनगणनामा हिन्दु धर्मको सङ्ख्या ८७.६ प्रतिशत भयो । बि.सं. २०१९ (सन १९६२) मा नेपाललाई हिन्दु राज्य बनाए पछि बि.सं. २०२८ (सन १९७१) सालको जनगणनामा हिन्दुको सङ्ख्या ८९.४ प्रतिशत पुग्यो ।

यस प्रकारको आँकडाले देशलाई हिन्दु राजनीति गर्न उत्साहित गर्‍यो र हिन्दु राज्य बनाउने काम गर्‍यो । यसको साथै उपनिवेशकारी अभिजातिय जत्थाबाट विभिन्न मानव समूहलाई धर्मको सम्बन्धमा एकातिर जहिल्यै पनि अलमल्याउने काम भयो भने अर्कोतिर हिन्दु धर्ममा गणना गर्न उद्धत भइरह्यो ।

लिम्बु आदिवासीमा सिर्जिएको समस्या :

जनगणना लिँदा जाति, भाषा र धर्मको महलमा के लेख्ने लेखाउने भन्ने कुरा र लेखाउनु पछिको कारण विभिन्न हुन्छ ।

यस्तो कारणहरूमा राज्यको दमनकारी नीति, असचेतनता, प्रलोभन र अज्ञानता मुख्य रहने गर्दछ । लिम्बुवानका लिम्बुहरू नेपालमा सामेल भएको १३७ वर्ष पछि पहिलो जनगणना भयो । बाहिरीयहरु १७ औ शताब्दीमा लिम्बुवानमा पुगे पनि वि.सं. १८३१ सम्म लिम्बुवानमा बाहिरीयहरुको प्रभाव त्यति धेरै परेको थिएन ।

यसैले, बि.सं. १८३१ (सन १७७४) भन्दा अघि लिम्बुहरू सबै परम्परागत एनेमिष्ट-सामानिजम (प्राकृत) विश्वास प्रणालीमा थिए । वि.सं. १८३१ (सन् १७७४) मा लिम्बुवान र कान्तिपुरका शाह राजा बिच सन्धि भए पछि लिम्बुहरूमा केन्द्रीय शासकहरूको प्रभाव, दमन विभिन्न हत्कण्डा तथा षडयन्त्रहरू निरन्तर भइरह्यो ।

यसमा मुख्यरुपले भाषा र धर्म तथा संस्कृतिमाथि अतिक्रमण र आक्रमण गर्ने काम भयो । परिणाम स्वरूप बि.सं. १९६८ (सन १९११) मा भएको पहिलो जनगणनामा अधिकांश लिम्बुले आफ्नो धर्म हिन्दु बताए ।

फाटफुटले युमा, प्राकृत र किरात लेखाए पनि यो क्रम बि.सं. २०३८ (सन १९८१) सालको जनगणना सम्म रोकिएन । २०४७ (सन १९९०) सालको प्रजातन्त्रको कारण बि.सं. २०४८ (सन १९९१) को जनगणनामा भने हिन्दु धर्म लेखाउनेको सङ्ख्या कम हुँदै गयो ।

आदिवासी समुदायमा आएको सचेतनाले २०४८ (सन १९९१) र २०५८ (सन २००१) सालको जनगणनामा भने लिम्बुहरूले किरात, युमा, प्राकृत (Animist) लेखाउनेको सङ्ख्या बढेर गयो भने हिन्दु धर्म लेखाउनेको सङ्ख्या ह्वात्तै घट्यो ।

बि.सं. २०६८ (सन २०११) को जनगणनामा किरात धर्म लेखाउनेहरूको सङ्ख्या ३ प्रतिशत पुग्यो । किरात धर्म लेखाऔँ भन्ने राई, लिम्बु, याक्खा र सुनुवारको जम्मा १० लाख जनसङ्ख्याको करिब ७२ प्रतिशतले २०६८ (सन २०११) को जनगणनामा किरात धर्म लेखाएको देखिन्छ । यो भनेको लगभग साढे ७ लाख मानिसहरूले किरात धर्म भनेर दर्ज गरे । यस भित्रका २८ प्रतिशतले प्राकृत, हिन्दु, क्रिस्चीयन तथा यूमा धर्म लेखाएको देखिन्छ ।

वास्तवमा, लिम्बु समुदायमा धर्म, जाति र भाषा सम्बन्धमा विवाद थिएन । लिम्बुमा धर्मको अवधारणा नै थिएन । लिम्बुमा सामाजिक-सांस्कृतिक विश्वास प्रणाली मात्र थियो जुन परापुर्वकालदेखि गरिआएका र अहिले पनि त्यही नै गरिरहेका छन् ।

त्यो वास्तवमा एनेमिजम-सामानिजम विश्वास प्रणाली थियो । धर्म के भन्ने, भाषालाई के भन्ने र जातिमा के लेख्ने र भन्ने विवाद उपनिवेशकारी राज्यले सिर्जना गरेको समस्या हो । यी सबै राज्यले थोपरेको अवधारणामा बग्ने काम भएको मात्र हो ।

सन १७७४ पछि लिम्बुहरू गोरखा–कान्तिपुरका शाह राजाहरूको उपनिवेशमा परे । लिम्बु नेता र गोरखा–कान्तिपुर बिच भएको सम्झौता पछि जति जति समय बित्तै गयो त्यति नै लिम्बुहरू गोरखा-कान्तिपुरको दमन, अन्याय र अत्याचारमा पर्दै गए ।

राज्यले खडा गरेको दमनकारी परिस्थितिमा आफ्ना कुरा बचाउने नाममा सत्यहाङमा धर्म र राज्यको दमनबाट बच्न हिन्दु धर्म भन्ने, लिम्बु भाषा बोल्न छोड्ने, नेपाली भाषा भन्ने र लिम्बु भाषालाई लिम्बु कुरा भन्ने, लिम्बुलाई जात भित्र लगेर राख्ने र लिम्बु जात भन्ने स्थितिहरू सिर्जना हुँदै गए ।

उपनिवेशकारी राज्यले लिम्बु राष्ट्र तथा समुदायलाई सिध्याउन थापेको पासो बोकेर आज लिम्बुहरू हामी सत्यहाङ किरात धर्मी हौ या यूमा धर्मी हौ भन्ने विवादमा छौ, याक्थुङ हौ या लिम्बु भन्ने विवाद गरिरहेका छौ र याक्थुङ भाषा हो कि लिम्बु भाषा हो भनेर विवाद गरिरहेका छौ ।

यो विवादको उठान काहाबाट, कसरी र कसले गर्‍यो भन्ने कुराको विश्लेषण नगरीकन टुङ्गोमा पुग्न सकिन्न । यसै गरी, यूमा, सत्यहाङ, किरात, याक्थुङ, लिम्बु सम्बन्धमा गहिरो विश्लेषण नगरी विवादको टुङ्गोमा पुग्न र विवाद समाधानको निष्कर्षमा पुग्न सकिन्न ।

लिम्बु समुदायमा भाषा, जाति र धर्म विवादको उठान :

लिम्बु भाषालाई याक्थुङ भन्ने कि लिम्बु भन्ने, जातिमा याक्थुङ भन्ने कि लिम्बु भन्ने हामी बिच खास विवाद बि.सं. २०७७ (सन २०२०) सालदेखि सुरु भएको विवाद हो ।

त्यो भन्दा अघि लिम्बु र याक्थुङ अर्थात् लिम्बु (याक्थुङ) सराबर थियो । लिखतहरूमा लिम्बु र लिम्बु समाजमा लिम्बु तथा याक्थुङ दुवै भन्ने प्रचलन थियो । त्यसैगरी, भाषालाई पनि लिम्बु तथा याक्थुङ भन्ने प्रचलन चल्दै आएको थियो ।

हाम्रो समाजमा ‘छोरी कुटेर बुहारी तर्साउने’, ‘एउटासंग भएको झगडाको रिस अर्कोसँग पोख्ने’ भन्ने जस्ता केही भनाई तथा उखानहरू छन् । विवादको जड चाही एक ठाउँमा रहेको तर झगडा चाही अर्कोतिर भएको स्थिति देखिएको छ । यसमा ३ वटा कारण स्पष्ट देखिन्छ । पहिलो कारण हो, सत्यहाङमा धर्मवालाले किरात धर्म भन्न गयो ।

सत्यहाङमा धर्मको विरुद्धमा रहेका परम्परागत धर्म मानिआएकाले किरात भन्ने नाम सुन्न चाहेनन् । आखिर २०७६ सालमा धरानमा भएको यूमा धर्म भन्नेहरूको भेलाले यस विवादलाई झन् तीव्रता दियो । हामी किरात होइन याक्थुङ हौ भन्ने कुरालाई अघि बढायो । यस भेलाले लिम्बुको धर्म किरात धर्म होइन यूमा साम्यो हो भन्यो ।

यद्यपि सिक्किममा यूमा र याक्थुङ भन्ने समूह २०४८/२०५० सालतिरै अस्तित्वमा थियो । तर त्यो नेपालमा लगभग २७/२८ वर्षपछि यो रूपमा आउनुमा ‘फुटाऊ र शासन गर’ भन्ने बाहिरीय शक्तिले भूमिका निर्वाह गर्‍यो ।

दोस्रो कारण हो, प्रदेशको नाम किरात हुनु पर्ने र लिम्बुवान हुनु पर्ने विवाद हुन गयो । लिम्बुवान हुनु पर्छ भन्नेहरूले किरातलाई विरोध मात्र होइन निषेध नै गर्न खोजे । जुन विवादले यूमा साम्यो सभा गर्न उत्प्रेरित गर्‍यो । किरातलाई निषेध गर्न खोज्दा याक्थुङ भन्ने शब्द जोड तोडले आयो । फेरी लिम्बुलाई याक्थुङ भन्ने प्रचलन पहिलेदेखि नै थियो ।

तेस्रो कारण हो, पहिचानको आन्दोलनले आफ्नो मौलिक पहिचान खोज्नतिर उत्प्रेरित गर्‍यो । मौलिक पहिचान खोज्ने क्रममा धर्मको नाम यूमा साम्यो र जाति तथा भाषा याक्थुङ भन्नेमा पुग्नु पर्ने अवस्था आयो ।

पहिले पहिचान लिम्बुवान र लिम्बु भनेर जोडतोडका साथ उठाउनेहरू नै अव याक्थुङ लाजे र याक्थुङ जाति तथा भाषा हो भनेर जोडतोडका साथ उठाउन पुगे । यो पहिचान र मौलिकताको खोजीकै क्रममा यो विवाद आएको छ ।

यसको सार कुरा हामी मौलिकतामा जानु पर्छ भन्ने कुराले विवाद ल्याएको छ । यद्यपि कुन मौलिक पहिचान हो भन्ने कुरामा पनि विवाद रहेकै छ । विवाद र बहस टुङ्गोमा पुगेको छैन । याक्थुङ र लिम्बु दुवै मौलिक शब्द र पहिचान हुन भन्ने बिचार पनि रहेकै छ ।

यसै गरी, लिम्बु जातिको धर्म किरात या यूमा या एनेमिष्ट-सामानिजम भन्ने विवाद सतहमा आएको पनि बि.सं. २०४० (सन १९८०) को दशकदेखि हो । यो विवाद वास्तवमा फाल्गुनन्द (फलामसिंह लिङदेन) बि.सं. १९६० (सन १९१०) को दशकदेखि सुरु गरेको सत्यहाङमा धर्मको प्रचार प्रसार गर्न थाले पछि सुरु भएको हो ।

त्यस अघि यूमालाई लिम्बु समुदायले एक माङकोरुपमा मान्दै पुज्दै आएका थिए । त्यही बि.सं. २०४० (सन १९८०) को दशकमा सिक्किमका एक लिम्बुले यूमाईजम (यूमावाद) पुस्तक प्रकाशन गरी प्रचार प्रसार गरे पछि धर्मकोरुपमा यूमा धर्मको चर्चा परिचर्चा सुरु भएको हो ।

त्यस अघि लिम्बु समुदायमा सत्यहाङमा र परम्परावादी (एनेमिष्ट–सामानिजम अर्थात् प्राकृत) संस्कार संस्कृति बिच मात्र विवाद र द्वन्द्व रहिआएको थियो ।

यी सबै तथ्यहरूले लिम्बु समुदायमा भाषा, धर्म र जाति सम्बन्धको विवाद धेरै अघि देखिको नभएर भर्खरै सुरु गरिएको विवाद हो भन्ने स्पष्ट हुन्छ । मुलत : यो समस्या उपनिवेशकारी राज्यले सिर्जना गरेको समस्या भए पनि उपनिवेशवादी सोच तथा बिचारबाट दीक्षित ज्ञान र त्यसको विरुद्धमा विद्रोह गर्ने ज्ञानका कारण लिम्बु समुदायमा जाति, भाषा र धर्ममा विवाद आएको छ ।

क्रमश:...