सुनसरी : जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा एक थुनुवा युवकको मृत्यु भएको भन्दै आज बिहानै देखि प्रहरी कार्यालय परिसर तथा बजार क्षेत्रमा प्रदर्शन र झडपका कारण सुनसरी सदरमुकाम इनरुवा तनावग्रस्त बनेको छ ।

मृतकका आफन्त सहित स्थानीयहरूको ठुलो सङ्ख्यामा आएका प्रदर्शनकारीहरूले प्रहरीहरू माथिढुंगामुढा गर्न सुरु गरे पछि दोहोरो झडप भएको थियो ।

प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर गर्ने क्रममा १२ भन्दा बढी सेल अश्रु ग्यास समेत प्रहार गरेको छ । प्रदर्शनकारीहरूले लोकतान्त्रिक चौकमा टायर बाली नाराबाजी गर्दै प्रदर्शन गर्नुका साथै बजार पसल यातायात समेत बन्द गराएका छन् । पूर्वपश्चिम राजमार्गको महेन्द्र चोक, बस स्टेण्ड लगायतका क्षेत्रमा समेत टायर बाली यातायात ठप्प पारेका छन् ।

पीडित परिवारले अनुसन्धानको क्रममा हिरासतमा रहेको भोक्राहा नरसिंह ५ टपराका मोहम्मद हकिम साहको सुनियोजित तरिकाले हत्या गरेको आरोप लगाउनुका साथै मृतकको शव समेत नबुझ्ने भन्दै प्रदर्शन गरिरहेका छन् ।

यसैबिच जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जय सिंह थापाका अनुसार अदालत बुझाउन अघि नै बिहान आत्महत्या गरेको तथा सिसिटिभी फुटेजमा हेर्दा गम्छा लगाएर हिरासतको ढोकामा झुन्डिएको क्यामेरामा स्पष्ट देखिएकाले प्रहरी माथि आक्षेप लगाउनु उचित नहुने बताएका छन् । उनले घटना अनुसन्धानको क्रममा रहेकाले छानबिन हुने जानकारी दिएका छन् ।

मृतक माथि प्रहरीले अभद्र व्यवहार मुद्दा चलाई अनुसन्धानका लागि हिरासतमा राखेको थियो । यसैबिषयमा इनरुवा ९ की एक युवति सँग अन्तर जातीय प्रेम सम्बन्धको विषयलाई लिएर युवतिलाई परिवार पक्षले बुझी लगेको र युवक माथि अभद्र व्यवहारको मुद्दा चलाउनु न्यायोचित नभएको तथा हिरासत मै मृत्यु हुनु भनेको सुनियोजित भएको पीडित परिवारको आरोप रहेको छ ।