इटहरी : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा गुटको मान्छे नभएकाले प्रदेश १ मा काँग्रेसले मुख्यमन्त्री नपाएको बताएका छन् ।

प्रदेश १ मा प्रधानमन्त्री देउवालाई चित्त नबुझेको बताउँदै उनले गुटबन्दीको कारण प्रदेश १ काँग्रेसले गुमाउनु परेको बताए । सबैभन्दा धेरै जनसङ्ख्या भएको प्रदेश १ र बाग्मती प्रदेशमा काँग्रेसले नेतृत्व गर्ने मौका पाएको भए पनि देउवाको कारण असफल भएको उनको भनाई छ ।

सभापतिले शक्ति पृथकीकरण र लोकतन्त्रको उपहास गर्ने कामको नेतृत्व लिएको उनको आरोप छ । पार्टीको विधान र लोकतन्त्रको मर्म विपरीत काममा सभापति लागेको डा. कोइरालाले प्रस्ट पारे ।

मोरङको सुन्दरहरैचा नगरपालिकामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले काँग्रेसलाई लथालिङ्ग बनाउन सभापतिले नेतृत्व गरेको भनाई राखे । अहिले कार्यकर्ताहरू गुटबन्दीको कारण पीडित भएको बताउँदै उनले अब नेतृत्व परिवर्तन आवश्यक भइसकेको बताए ।

सभापति देउवाप्रति निक्कै आलोचक देखिएका उनले प्रहरी प्रशासन लगाएर प्रधानमन्त्री तथा सभापतिकै जिल्लामा अधिवेशन हुनु आपत्तिजनक भएको धारणा राखेका छन् ।

निर्वाचन अधिकृतलाई धम्की दिने देखी जिल्ला सभापतिसँग समन्वय नगरी अधिवेशन गर्ने र गुटको मान्छे नपर्ने डरले क्रियाशील सदस्यता रोक्ने काम लज्जास्पद भएको उनको भनाई छ । यस्ता कार्यले काँग्रेसमा आकर्षण नबढ्ने भन्दै सभापति देउवाको विकल्प खोज्नुपर्ने उनले बताए । विधि र कानुन विपरीत महाधिवेशन रोक्ने काम कार्यकर्ताको लागी अस्वीकार्य भएको उनको धारणा छ ।

निर्वाचित नगर समितिलाई बधाई तथा शुभकामना दिने क्रममा जितले सन्मान नहुन र हारले हतोस्साहीत नहुने आग्रह गरे । यो काँग्रेसको पर्व भएकोले कसैको जित र हारसँग भन्दा पनि काँग्रेसको जित सँग महाधिवेशनलाई जोड्नुपर्ने उनको भनाई छ ।

सोही कार्यक्रमका विशिष्ट अतिथि रहेका काँग्रेस पूर्व केन्द्रीय सदस्य तेजप्रसाद सिटौलाले पार्टीमा बाहुबल हाबी भएको बताए । इमान्दार कार्यकर्ता बिस्तारै पाखा लाग्दै जाने अनि धन र बल भएकाको हातमा पार्टी पुग्ने खतरा बढेको उनको भनाई छ । अहिले लोकतन्त्रका स्तम्भहरू ढल्न थालेको चिन्ता व्यक्त गर्दै उनले पत्रकारिताले मात्र लोकतन्त्र जोगाएको बताए ।