धरान : धरान-१४ को दन्तकाली मन्दिरमा बुधवार अष्टमीको दिन भक्तजनको भिड बढे पछि साढे ३ सय मास्क धरान १३ को वडा कार्यालयले बाडेको छ । 

बुधवार बिहानै दन्तकाली मन्दिर आइपुगेका वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले मन्दिरमा भक्तजनको घुइँचो र अव्यवस्थित भक्तजनको लाइन र अधिकांश भक्तजनले मास्क लगाएको नपाए पछि ३ सय ५० थान सर्किजल मास्क र मन्दिर क्षेत्र प्रवेश गर्ने ढोकामा भक्तजनलाई लक्षित गरी २ लिटर स्यानिटाइजर खरिद गरेर नगर प्रहरीलाई हस्तान्तरण गरेका हुन् । 

नगर प्रहरीले भक्तजनलाई स्यानिटाइजरबाट हात स्यानिटाइजर गरेर मात्रै भक्तजनहरुलई मन्दिर क्षेत्रमा प्रवेश गर्न र अनिवार्य मास्क लगाउन आग्रह गर्दै निःशुल्क मास्क वितरण गरेका थिए । 

बुधवार बिहान दन्तकाली मन्दिरमा भक्तजनहरूको बाक्लो भिड बढेको थियो । मन्दिरमा आउने भक्तजनहरू मध्ये अधिकांशले मास्क लगाएका थिएनन् । कोरोना महामारी कायमै रहेको र संक्रमणदर घटे पनि सङ्क्रमण कायमै रहेकोले मन्दिर व्यवस्थापन समितिले पनि अनिवार्य मास्क लगाउन भक्तजनलाई आग्रह गर्नुपर्ने १३ नम्बर वडाध्यक्ष काफ्लेले बताए ।

तर मन्दिर व्यवस्थापन समितिले त्यसो गरेको नपाइएकोले आफूले मास्क र स्यानिटाइजर खरिद गरेर नगर प्रहरीलाई हस्तान्तरण गरेको अध्यक्ष काफ्लेले बताए । 

भक्तजनको लापर्वहीले कोरोना सङ्क्रमणको जोखिम

घटस्थापनाको दिन देखि सुरु भएको नवरात्रमा विजयपुरको दन्तकाली मन्दिर र बुढासुब्बा मन्दिरमा भक्तजनहरूको निकै बाक्लो उपस्थिति हुन थालेको छ ।

फूलपातीको दिन देखि भने भक्तजनको सङ्ख्या बढ्नु र अधिकांश भक्तजन मास्क नलगाई आउनुले कोरोना सङ्क्रमणको जोखिम बढेको छ। यसबारेमा मन्दिर व्यवस्थापन समिति, धरान उपमहानगरपालिका र प्रशासनको ध्यान जान जरुरी छ।