धरान : हाम्रो कलेक्सन द्वारा आयोजित एक दिने हाम्रो कलेक्सन थ्री बाईँ थ्री बास्केटबल खसी कपको उपाधि व्रदस बास्केटबल टिम धरानले जितेको छ ।

व्रदसले फाइनल खेलमा इमोर्टल क्लब धरानलाई ११-१० अङ्कको अन्तरले पराजित गर्दै उपाधि जितेको हो । व्रदसले पुरस्कार स्वरूप २० केजीको खसी सँगै प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता इमोर्टलले नगद २ हजार ५ सय रुपैयाँ र प्रमाण पत्र प्राप्त गर्‍यो । अत्यन्त्य प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा व्रदसका तर्फ वाट सर्वधन राईले व्यक्तित्व ७ अङ्क जोडेका थिए ।

धरान-८ यलम्बर खेल मैदानमा सम्पन्न प्रतियोगितामा सहभागी क्लबहरूमा अधिकांश प्रदेश १ र सुनसरी जिल्ला टिमका खेलाडीहरूको सहभागिता रहेको थियो । उपाधि विजेता व्रदस टिमबाट दुई जना प्रदेश १ बास्केटबल टिमका खेलाडी सर्वधन राई र सुजन राई र सुनसरी जिल्ला टिमका खेलाडी कविन मगर रहेका थियो ।

त्यस्तै गरी इमोर्टल टिममा प्रदेश १ बास्केटबल टिमका कप्तान नवीन राई र सुनसरी टिमका खेलाडी सन्तोष तामाङले क्लबको प्रतिनिधित्व गरेका थिए । प्रतियोगितामा धरान, विराटनगर, दमक, बेलबारी, तरहरा लगायतबाट २२ वटा टिमले सहभागिता जनाएका थिए । त्यस्तै गरी फाइनल खेल अघि भएको धरान बास्केटबल सङ्घ (डिविए) र सुनसरी बास्केटबल सङ्घका पूर्व खेलाडीहरू बिच मैत्रीपूर्ण खेल खेलाइएको थियो ।

मैत्रीपूर्ण खेलमा धरान बास्केटबल सङ्घले सुनसरीलाई ३१-३० अङ्कको अन्तरले पराजित गरेका छन् । खेलमा डिविए वाट प्रदेश १ बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राईले व्यक्तिगत २४ अङ्क जोडेका थिए भने सुनसरी वाट देवराज राईले १५ अङ्क जोड्न सफल भएका थिए ।

प्रतियोगिताका विजेताहरूलाई कार्यक्रमका सभाध्यक्ष हाम्रो कलेक्सनका व्यवस्थापक रविवास्फोर, प्रमुख अतिथि नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, विशेष अतिथि जिल्ला बास्केटबल सङ्घ, सुनसरी अध्यक्ष नारायण सुवेदी, पूर्व अध्यक्ष सुधीर लिम्बु, प्रदेश १ प्रशिक्षक विकास चाम्लिङ राई, धरान बास्केटबल सङ्घ सल्लाहकार खगेन्द्र रिजाल, कोषाध्यक्ष गौरव श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।