इटहरी : नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर २ (क) मा सुवेक्छु देवान विजयी भएका छन् । शनिवार सम्पन्न निर्वाचनमा धनबहादुर पुरिलाई पराजित गर्दै देवान विजयी भएका हुन् ।

३११ क्षेत्रीय प्रतिनिधि मध्ये ३१० जनाले मतदान गरेका थिए । त्यसमध्ये देवानको पक्षमा १६५ मत र पुरीको पक्षमा १४१ मत खसेको छ भने ४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।

त्यस्तै उपसभापतिमा घनश्याम खड्का र सरिता आङ्दाम्बे विजयी भएका छन् । सचिवमा संस्थापन प्यानलका चिन्तामणि सापकोटा र इतर प्यानलका महेश चौधरी विजयी भए भने सहसचिवमा कर्ण बहादुर बुढाथोकी र सुभद्रा राई विजयी भएका छन्।

इटहरीका सक्रिय पत्रकार पुरी र सामाजिक अभियान मार्फत राजनीतिमा उदाएका देवानको प्रतिस्पर्धालाई निक्कै रोचक रूपमा हेरिएको थियो । संस्थापन पक्षका देवान नेबिसङ्घ सुनसरी उपसभापति समेत हुन । यसअघि इटहरी उपमहानगर समितिको निर्वाचनमा हार बेहोरेको संस्थापन प्यानललाई देवानको जितले ढाडस दिएको छ।