इटहरी : नेपाली काँग्रेस प्रदेश १ समितिको निर्वाचन अन्तरगत हिजो सम्पन्न भएको मतदानको गणना कार्य आज हुने भएको छ । प्रदेश १ को राजधानी विराटनगरमा पहिलो प्रदेश समितिको निर्वाचन भएको हो ।

बिहान ८ बजे सुरु गर्ने भनिएको मतदान कार्य सदस्यका उम्मेदवारको नामावली विवाद भएपछि १२ बजेको लागी सरेको थियो । १२ बजे पनि मतदान सुरु नभएपछि २ बजेबाट मतदान सुरु भएको हो । निर्वाचन अधिकृत भरत थापाका अनुसार साँझ ७ः३० बजे मतदान सम्पन्न भएको हो । कुल १८०४ मतदाता मध्ये १७५२ मत खसेको छ ।

पहिलो प्रदेश कार्यसमितिका लागि सभापति शेरबहादुर देउवा र कृष्ण प्रसाद सिटौलाको संयुक्त प्यानल बनेको छ । संयुक्त प्यानलबाट सभापतिमा उद्धव थापा र डा. शेखर कोइराला प्यानलबाट गुरुराज घिमिरे मैदानमा छन् । घिमिरेलाई झापा, मोरङ र सुनसरीको आश रहेको छ भने थापाले पहाडी जिल्लाको मत पाउने आसमा छन् ।

जिल्ला सभापतिमा देउवा सिटौला प्यानल बलियो देखिएकाले सोही अनुसार प्रदेशमा मत आउने थापाको विश्वास छ । तर उनकै गृह जिल्लाबाट घिमिरेलाई समर्थन बढेको छ । काँग्रेस प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाको मौनताले थापालाई फाइदा पुग्ने देखिएको छ । कोइराला आफै सभापतिको आकाङ्क्षी भएको तर टिमले टिकट नदिएका कारण उनी मौन बसेका हुन् । इतर प्यानलको बलियो जिल्ला मानिएको सुनसरीले घिमिरेलाई समर्थन नगर्दा थापाको पक्षमा मत परिणाम जाने देखिएको छ ।

त्यस्तै ९ जना पदाधिकारीको लागि २० जना चुनावी मैदानमा छन् । २ जना उपसभापतिमा गोविन्द ढुङ्गाना र विश्वनाथ रिजाल कोइराला प्यानलका उम्मेदवार हुन भने टङ्क राई र रमेशजंग रायमाझीले संस्थापन प्यानलबाट उम्मेदवारी दिएका छन् । महामन्त्रीमा कोइराला प्यानलका दिपेन श्रेष्ठ र उमेश थापा उम्मेदवार भएका छन् । संस्थापन प्यानलबाट भूपेन्द्र राई र पदम सुन्दर पालुङ्गा चुनावी मैदानमा होमिएका छन् । सह-महामन्त्रीको महिला २ जना र खुल्ला २ जनामा प्रमीला गच्छदार, मान बहादुर लिम्बू, अञ्जना ताम्ली, रोहित साह, सुभचद्र राई, सीता कार्की, वीरकाजी राई, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो र इन्दिरा थापाले उम्मेदवारी दिएका छन्।

काँग्रेसको प्रदेश समितिमा हरेक जिल्लाबाट महिला १४ र खुला १४ सदस्य निर्वाचित हुने भएका छन् । प्रत्येक निर्वाचन क्षेत्रबाट ६ महिला र १३ खुला सदस्य रहने भएका छन् । त्यस्तै खस आर्यबाट महिला ७, खुल्ला ५, जनजातिमा महिला ७ र खुला ८, मधेसी महिला एक र खुला एक, दलित महिला एक र खुला दुई, थारूतर्फ महिला एक र खुला एक, मुस्लिममा खुला एक, अल्पसङ्ख्यक र अपाङ्गमा एक सदस्य पदका लागि निर्वाचित हुने भएका छन् ।