धरान: राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन्। आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी भएका हुन्।

निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए । यस्तै पराजित थापाले १६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर भएको बस्नेतको भनाइ छ।

राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो भने आज रातभर मतगणना भएको थियो । निर्वाचन समितिले आधिकारिक मतसहित घोषणा गर्ने तयारी गरेको छ ।

यसैबीच, अध्यक्षमा पराजित थापाले सामाजिक सञ्जालमार्फत लिङ्देनलाई बधाई दिँदै मत परिणाम स्वीकार गरेका छन् । 

उनले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्व राजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको आरोप लगाउँदै भत्सर्ना गरेका छन् । उनले लेखेका छन्, 'सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।'