धरान : गएको मङ्सिर १७ गते देखि जिल्ला निर्वाचन कार्यालय सुनसरीले सुनसरीका विभिन्न ९ स्थानीय तहमा मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम सुरु गरेको छ ।

धरान उपमहानगर, इनरुवा नगरपालिका र हरिनगर गाउँपालिकाबाहेकका स्थानीय तहहरुमा मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम सुरु गरेको हो ।

यी तीन स्थानीय तहमा भने नियमित नामावली सङ्कलन भइरहेको कारण विशेष कार्यक्रम सञ्चालन नभएको जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले बताए । धरान र हरीनगरमा सो पालिकामा रहेको इलाका प्रशासन कार्यालयहरूबाट र इनरुवामा जिल्ला निर्वाचन कार्यालयबाट नियमितरुपमा नाम दर्ता भइरहेको छ ।

सूचना अधिकारी मिश्रका अनुसार मङ्सिर १७ गते देखि पुस २ गतेसम्म इटहरी, भोक्राहा नरसिंह गाउँपालिका, रामधुनी नगरपालिका, देवानगञ्ज गाउँपालिका र बर्जू गाउँपालिकाको कार्यालयमा मतदाता नामावली सङ्कलन कार्यक्रम हुँदै छ भने कोशी गाउँपालिका, वराहक्षेत्र गाउँपालिका, दुहबी गाउँपालिका र गढी गाउँपालिकामा पुस ४ गतेदेखि १८ गतेसम्म मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम सञ्चालन हुदैछ ।

सुनसरी जिल्लामा रहेका जिल्ला बाहिरकाले पनि आफ्नो स्थानीय तहमा मतदाता नामावली दर्ता गर्न चाहे जिल्ला निर्वाचन कार्यालय पुगेर मतदाता नवमालीमा नाम दर्ता गर्न सक्नेछन् ।