चतरा : सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं २ चतरामा प्रथम वराह नकआउट क्लब स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

हाटखोटा फुटबल क्लबको आयोजनामा प्रथम वराह नकआउट फुटबल प्रतियोगिता हुने भएको हो । मसिंर २३ गते देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल चतरा फुटबल क्लब चतरा र सप्तकोसी फुटबल क्लब देविघाट बिच हुने आयोजकले जानकारी दिएको छ ।

आयोजक क्लबका सचिव रोहित साहका अनुसार प्रतियोगितामा सुनसरी जिल्लाका १० वटा फुटबल क्लबले सहभागिता जनाउने छन् ।

आयोजक हाटखोला रातो, आयोजक निलो, राजावास फुटबल क्लब राजावास, चतरा फुटबल क्लब चतरा, सप्तकोसी फुटबल क्लब देबिघाट, ग्रिन कल्चर फुटबल क्लब चक्रघट्टि, पञ्चकन्या फुटबल क्लब बक्लौरी, एभरेस्ट फुटबल क्लब नडाहा, वराह यूथ क्लब तित्रिगाछि, पटनाली फुटबल क्लब धरानले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार, दोस्रो ३१ हजार रहेको छ । चतरा स्थित सरोवर रेष्ट्रोमा आयोजक हाटखोला फुटबल क्लबका अध्यक्ष विकास सुनुवार राईको अध्यक्षतामा पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रतियोगिता बारे जानकारी दिइएको थियो ।

समाजमा व्याप्त रूपमा स्थानीय किशोर, किशोरी एवं युवा युवती लागूपदार्थ दुव्यसनीमा फसेकाले उक्त गतिवधिलाई न्यूनीकरण गर्ने उदेश्य राखेर प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक हाटखोला फुटबल क्लबका सचिव रोहित साहले बताए । प्रतियोगिता हाटखोला स्थित स्थानीय बाइसविघे खेलमैदानमा हुनेछ ।

प्रतियोगिताको कुल खर्च करिब ८ लाख आङ्कलन गरिएको छ। नाईन साइजमा हुने प्रतियोगितामा उत्कृष्ट गोलकिपर, खेलाडी, हाईस्कोरर, डिफेन्डर लगायत विद्याका पुरस्कार प्रदान गरिने अध्यक्ष विकास सुनुवारले जानकारी दिए ।

चतराका युवामा बढेको लागूऔषध दुर्व्यसनलाई घटाउने र राष्ट्रियस्तरका खेलाडी उत्पादन गरी चतराको युवामा पुरानो फुटबल खेल भावनालाई बढाई स्थानीयस्तरका खेलाडीहरूलाई आधुनिक खेल कौशलताको ज्ञान दिने प्रतियोगिताले भूमिका खेल्ने युवा राष्ट्रिय खेलाडी एवं युवा उद्यमी रोशन श्रेष्ठले जानकारी दिए ।

पुस ३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा स्थानीय वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको सहयोग रहने सचिव रोहित साहले बताए । प्रतियोगितामा हालसम्म प्रायोजन चतरा सामुदायिक वहुउदेश्य सहकारी चतरा र आदर्श सामुदायिक वन उपभोक्ता समितिले गर्नेछन् ।