इटहरी : इटहरीको स्किल क्याम्पसले इटहरी उपमहानगरपालिकालाई चिकित्सा सामग्री प्रदान गरेको छ । चीनको हाइनान हाइनान कलेज अफ भोकेसन एण्ड टेक्नीकको सहकार्यमा स्किल क्याम्पसले सामग्री प्रदान गरेको हो ।

अस्पतालमै एक कार्यक्रमका बिच उपमेयर लक्ष्मी गौतमलाई सामग्री प्रदान गरिएको छ । प्राथमिक उपचार बाकस (फस्ट एड बक्स, किट सहित), अक्सिमिटर, थर्ममिटर लगायत सामग्री प्रदान गरिएको हो । उपमेयर गौतमले प्राप्त सामग्रीको उचित प्रयोग हुने बताइन् । स्किल क्याम्पसको पहलमा धेरै सामाजिक कार्यहरू भएको स्मरण गराउँदै उनले धन्यवाद व्यक्त गरिन्।

स्किल क्याम्पसका प्रबन्ध निर्देशक प्रज्वल पराजुलीका अनुसार हाइनान सँगको प्राविधिक सहकार्यमा सामग्री उपलब्ध गराइएको हो । विगत लामो समयदेखि हाइनान कलेज सँग स्किल क्याम्पसले मैत्रीपूर्ण सम्बन्ध स्थापित गरेको छ । प्राविधिक ज्ञान र सिप आदानप्रदान गर्दै आएका दुई कलेज बिच सामाजिक सहकार्य अगाडी बढेको उनले सुनाए ।

सरकारी अस्पतालमा चिकित्सा सामग्रीको उपलब्धता कम हुँदा समस्या बढेको भन्दै इटहरी अस्पतालमा सो सामग्री प्रदान गरिएको उनले बताए । हाइनानकले चीनको हाइनान प्रान्तको प्राविधिक कलेज हो । यसअघि सेकेन्डरी बोर्डिङ स्कुलका पूर्व विद्यार्थीको समूहले भेन्टिलेटर सहित गुणस्तरीय स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

विभिन्न क्षेत्रमा स्थापित पूर्व बिद्यार्थीहरुले इटहरीको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने हेतुले सहयोग गरेका हुन् । कोरोना महामारी नियन्त्रण र आगामी दिनमा स्वास्थ्य क्षेत्रमा गुणस्तरीयता वृद्धि गर्ने उद्देश्यले सामग्री प्रदान गरिएको पूर्व विद्यार्थी डाक्टर बेन लिम्बुले बताएका थिए । १ थान भेन्टिलेटर, १० सेट थर्मल गन, ९ सेट अक्सिमिटर, ९ थान मेडिकल स्ट्रेचर, २५ सेट पिपिई, एन ९५ मास्क सय थान, थ्रि लेयर्स फेस मास्क १२५० थान प्रदान गरेका हुन् ।