झापा : झापामा मोटरसाइकल चोरीमा संलग्न रहेका तीन जनालाई प्रहरीले मोटरसाइकल सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाम सूर्योदय नगरपालिका १ का २१ वर्षीय आशिष सुब्बा, सूर्योदय ८ का २१ वर्षीय विवेक घिमिरे र झापा बिर्तामोड नगरपालिका ३ बिर्ताबजारका २६ वर्षीय रञ्जित राजवंशी रहेको प्रहरीले जानकारी दिएको छ ।

झापा जिल्लामा मोटरसाइकल चोरीको घटना वृद्धि भए पश्चात् इलाका प्रहरी कार्यालय अनारमनि झापाबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा उनीहरूको साथबाट चोरी भएको मे ६ प २५०५ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल र मे ११ प ९७३५ नम्बरको १५० सिसिको एफ जेड मोटरसाइकल सहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूलाई प्रहरीद्वारा थप अनुसन्धान भइरहेको छ ।