इटहरी : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गरिबको घरमा पुगेर सेवा गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । इटहरीमा आयोजित प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले जनताको दुःखमा हरदम सहयात्री बन्न निर्देशन दिएका हुन् ।

समाजवादी पार्टीको जन्म जनताको हित र भलाइको लागी भएको भन्दै नेपालले कम्युनिस्ट पार्टीमा आकर्षण थप्ने काममा लाग्न आग्रह गरे । भियतनाम, क्युबा, चीनको विकाशबारे स्मरण गराउँदै उनले मानव विकाशको उच्चतम अभ्यास नै कम्युनिस्ट भएको प्रमाणित गर्नुपर्ने बताए ।

समाजवादी पार्टीले गरिब, दलित र सुकुम्वासीको नेतृत्व गरेर परिवर्तनको चाहना भएका जनताकोलागी आशावादी व्यवहार गर्नुपर्ने प्रस्ट पारे । गरिब जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीकोलागि लाग्न अनुरोध गरे ।

'आफ्नो मिसन र भिजन प्रस्ट पार्नुहोस् । ह्वाट इज योर मिसन ? त्यो प्रस्ट हुनुपर्छ ।,' उनले भने, “पद पाउन कम्युनिस्टमा लाग्नेले गरी खाँदैन । सामाजिक चेतना जागृत गर्ने लक्ष्य सहित पार्टीमा लाग्नुहोला । जनताका विश्वास, विकास र समृद्धि हाम्रो लक्ष्य हो । युवालाई दक्ष र उत्पादनशील बनाउने गरी सरकारले काम गर्नुपर्ने छ ।”

केपी शर्मा ओलीको गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरूलागी परेको उनले बताए । कार्यकर्ता र नेताको सम्मान नगर्ने प्रवृत्तिका विरुद्ध लाग्दा देशै भरी राम्रो प्रतिक्रिया पाएको नेपालको बुझाई छ ।

धेरैले नयाँ पार्टीको भविष्य भने पनि दिल्लीमा आम आदमीले त्यसलाई प्रस्ट पारिसकेको उनले स्मरण गराए । काँग्रेस आईको एकछत्र भएको दिल्लीमा आम आदमीले विकल्प दिएकाले आफूहरू त्यही लाइनमा अगाडी बढ्नुपर्ने बताए । एमालेको चुनाव चिन्ह सूर्यप्रति इङ्गित गर्दै उनले सुर्मा ग्रहण लागिसकेको र अब कलम चिन्हले सत्य कुरा मात्र लेखेर चेतनाको सञ्चार गराउने उल्लेख गरे ।

कमिटीलाई वडा स्तरसम्म पुर्‍याउन आग्रह गर्दै उनले मिटर व्याजमा लाग्ने ,मान्छेलाई दुःख दिने र गरिबलाई अन्याय गर्नेले पार्टीमा नलाग्न चेतावनी दिए । इटहरीको लायन्स क्लबमा बुधवारको प्रशिक्षण कार्यक्रममा पार्टी महासचिव वेदुराम भुसाल र प्रवक्ता तथा सचिव जगन्नाथ खतिवडाले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।