धरान : प्रहरीले सुनसरीको धरान र मोरङको उर्लाबारीबाट लागुऔषध सहित तीन जना युवालाई पक्राउ गरेको छ ।

धरानको भानुचोकबाट लागुऔषध सहित एक जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेमा धरान-१३ का २७ वर्षीय मिलन तामाङ रहेका छन्। आज बिहान पौने ६ बजे वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा तामाङको साथबाट डाईजेपाम ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, एभिल ८ एम्पुल, नाईट्रोजोपाम ५० ट्याब्लेट र स्पास्मो प्रोक्सिभन १८ ट्याब्लेट बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

यसैगरी मोरङको उर्लाबारी नगरपालिका-३ नमुना टोलबाट २ जनालाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेमा उर्लाबारी-३ का २६ वर्षीय बाबुराम थारु र ३१ वर्षीय सन्तोष तामाङ रहेका छन्। आज बिहान १० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले थारुको घरमा चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउन सुगर १ ग्राम १७० मिलिग्राम सहित पक्राउ गरेको हो।