इटहरी : आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को सम्मेलनको तयारी तीव्र पारिएको छ ।

प्रदेश १ का अध्यक्ष सुरेशकुमार राई (हिमाल)का अनुसार सम्मेलनमा १ हजार १ सय ४० जना प्रतिनिधि तथा स्वयंसेवक गरी १५ सयको सहभागिता हुनेछ ।
सम्मेलनको लागि प्रदेशका १३७ स्थानीय तहबाट पार्टी सदस्य सङ्ख्याको आधारमा पालिकाहरूबाट ६ सय प्रतिनिधि चयन भइसकेका छन् । माओवादी केन्द्रले सबै स्थानीय तहबाट न्यूनतम ३ जना पर्नेगरि ५०० पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छानेको हो । सम्मेलनमा आयोजक समितिका ९७ जना, ज्येष्ठ कम्युनिस्ट मञ्च प्रदेश १ बाट ८० जना, प्रदेश सल्लाहकारहरू सय जना र विभागबाट ३२ जना सहभागी हुनेछन् । प्रदेशका प्रतिनिधिको कुल १० प्रतिशत अर्थात् ९१ जनालाई प्रदेश आयोजक समितिले मनोनीत गर्नेछन् ।

सम्मेलनमा केन्द्रीय सदस्यहरू २० जना, केन्द्रीय सल्लाहकारहरू १२ जना, केन्द्रीय विभागका ६८ जना, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चबाट १२ जना र केन्द्रीय आयोगका ५ जनासमेत प्रतिनिधिको रूपमा सहभागी हुनेछन् । केन्द्रीय समितिका सदस्यहरूले प्रदेशको सम्मेलनमा उम्मेदवार भएमा वा मतदान गरेमा राष्ट्रिय सम्मेलनमा मतदान र उम्मेदवार हुन पाउनेछैनन् । तर, प्रदेश सम्मेलनबाट राष्ट्रिय सम्मेलनको प्रतिनिधि भने उनीहरू चयन हुन सक्नेछन् ।

मोरङको विराटचौकको जेसिस भवनमा हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट गर्ने आयोजक समितिका सचिव हेमराज भण्डारीले जानकारी दिएका छन् । अधिवेशनको उद्घाटन सत्रपछि सोही दिन बन्दशत्र सुरु हुनेछ । ‘राजनीतिक र साङ्गठनिक प्रतिवेदनबारे भोलिपल्ट बिहानसम्म बहस हुने र प्रतिवेदनहरू पारित हुनेछन्,’ राईले भने, ‘समिति निर्माणको काम सकेसम्म सहमतिमै २६ गते टुङ्गो लाग्नेछ ।’ नेतृत्वको विषयमा सहमति नभए निर्वाचनको बि धिमा जाने पार्टीले जनाएको छ।

प्रदेश सम्मेलनबाट १७५ जनाको कार्यसमिति निर्वाचित हुनेछ भने झण्डै १ सय जनाको हाराहारीमा राष्ट्रिय सम्मेलनका प्रतिनिधि चयन हुनेछन् । राष्ट्रिय सम्मेलनको प्रतिनिधि केन्द्रले तोकेको ३० जना र १ हजार ५ सय पार्टी सदस्य बराबर एक जनाको दरले प्रदेश सम्मेलनले नै चयन गर्नेछ ।
प्रदेश समिति पदाधिकारीसहित बढीमा १७५ जनाको हुनेछ । समितिमा ३५ प्रतिशत महिला र १५ प्रतिशत दलितको प्रतिनिधि अनिवार्य हुने व्यवस्था माओवादीले गरेको छ। यस्तै प्रदेशमा अध्यक्ष, एक महिला अनिवार्यसहित ३ उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष हुनेछन् ।

प्रदेश सम्मेलनको लागि ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । प्रदेश सम्मेलनको निर्वाचन समिति राजेन्द्र तिराकीको संयोजकत्वमा रहेको छ ।