धरान : करोडौँ मूल्य पर्ने महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा मोहीको नाममा सार्न जिल्ला भूमि सुधार तथा मालपोत कार्यालयले फैसला गरेपछि क्याम्पसका विद्यार्थीहरू आन्दोलित बनेका छन् ।

सोमबार दिउँसो उनीहरूले क्याम्पस प्रमुख दामोदर भण्डारीको कुर्सी नै जलाए भने आज (मंगलबार) उनीहरूले क्याम्पसको जग्गा संरक्षण गर्नका लागि संयुक्त विद्यार्थी समिति गठन गरी धरानका राजनीतिक दल, जनप्रतिनिधि, क्याम्पस प्रशासन तथा सरोकारवाला व्यक्तिहरूलाई बोलाएर महेन्द्र बहुमुखी क्याम्पस धरानको सेमिनार हलमा सार्वजनिक बहस कार्यक्रम आयोजना गरे।

क्याम्पस प्रशासनले आफ्नो जग्गा संरक्षण गर्न नसकेको संयुक्त विद्यार्थी समितिको आरोप छ । उनीहरूले क्याम्पसको जग्गा फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने पनि घोषणा गरे ।

कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल तथा सरोकारवाला व्यक्तिहरूले क्याम्पस जग्गामा भूमाफियाहरुको चलखेल भएको आशङ्का गरेका छन् । उनीहरूले ऐक्यबद्धता जनाउँदै क्याम्पसको जग्गा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।  सार्वजनिक बहस कार्यक्रममा क्याम्पस प्रमुख दामोदर भण्डारीको भने उपस्थिति थिएनन् । 

मेयर तिलक राईले धरानको साँझ सम्पत्तिको रूपमा रहेको क्याम्पसको जग्गा संरक्षण गर्नु स्थानीय सरकारको दायित्व रहेको बताए । मेयर राईले क्याम्पसको नाममा रहेको सार्वजनिक जग्गामा किर्ते मोही सृजना गरी मोहियानी दाबी गरिएको र भुमाफिया लगायतको सेटिङप्रति स्थानीय सरकारले खबरदारी गर्ने बताए ।

मेयर राईले भने, ‘यो स्थानीय सरकारको पनि सम्पत्ति हो, स्थानीय सरकार यस विषयमा गम्भीर भएर लागिपर्छ ।’ मेयर राईले भूमि सुधार तथा मालपोत कार्यालयको  फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा  पुनरावेदन पेस गरी जग्गा बचाउन पहल गर्ने विश्वास दिलाए । ‘मोही पीडित हैन, अहिलेसम्म म सम्म आएको छैन, वकिल पनि राखेको छैन त्यसैले अदृश्य रूपमा  छ, तर, यस जग्गा प्रकरणमा मोही एक्लै छैन, यसमा थुप्रै व्यक्तिहरू लागेका छन्, बिस्तारै छानबिन हुन्छ’ मेयर राईले भने ।   मेयर राईले क्याम्पस प्रमुखले जग्गा प्रकरणको बारेमा स्थानीय सरकारलाई कहिले पनि जानकारी नगराएको समेत बताए ।

निमित्त क्याम्पस प्रमुख शकुल क्षेष्ठले क्याम्पसको जग्गाको सर्जिमिन भएपछिको अन्य कुनै पनि कुराहरू आफूलाई क्याम्पस प्रमुख भण्डारीले जानकारी नगराएको बताए । संयुक्त सङ्घर्ष समितिले वारेसमार्फत क्याम्पस प्रशासनले तारेख बुझेको र ३ पटक पेशी तोकिँदा पनि वकिल पठाएर बहस नगर्दा प्रशासन र क्याम्पस प्रमुखमाथि नै प्रश्न चिन्ह खडा भएको जनाएको छ । क्याम्पसको स्वामित्वमा रहेको जग्गा धरान-११ स्थित स्वस्तिक चोकमा कित्ता नम्बर २६६ रहेको १७ कट्ठा १८ धुर जग्गा विवाद लामो समयदेखि चल्दै आएको छ।