इटहरी : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कम्युनिस्ट पार्टीको चरित्र बारे टिठलाग्दो टिप्पणी गरेका छन् । सुनसरीको इटहरीका आयोजित प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले कम्युनिस्ट पार्टीको जिम्मेवारी र दायित्व बारे प्रष्ट पारेका हुन् ।

उत्साहित भएर सैद्धान्तिक व्याख्या गरेका उनले आफैप्रति विरोधाभास पूर्ण टिप्पणी गरे । त्यसमध्ये कम्युनिस्ट पार्टीमा लाग्दा पदको लोभ गर्न नपाइने भन्दै आफैप्रति व्यङ्ग्य गरे । नेकपा एमालेमा सम्मान नभएको र पद नपाएको भन्दै पार्टी विभाजन गरेका नेपालले कार्यकर्तालाई पदमा मरिहत्ते नगर्न आग्रह गरे ।

“आफ्नो मिसन र भिजन प्रष्ट पार्नुहोस् । ह्वाट इज योर मिसन....? त्यो प्रष्ट हुनुपर्छ ।,” उनले भने, “पद पाउन कम्युनिस्टमा लाग्नेले गरी खाँदैन । सामाजिक चेतना जागृत गर्ने लक्ष्य सहित पार्टीमा लाग्नुहोला । पदको लागी हैन । पद मात्र ओगट्नेको कम्युनिस्ट पार्टीमा काम छैन ।”

उनले यसो भनी रहँदा दर्शकदिर्घाका कार्यकर्ता मुखामुख गर्न थाले । पुनः उनले पदको लागी नभएर जनताको सेवामा लाग्न निर्देशन दिए । तथापि कार्यकर्तामा कुनै नौलो उत्साह देखिएन ।
नेकपा एमालेमा हुँदा सत्ताकै वरिपरि रहेका उनले नयाँ पार्टीमा पदको लागी नलड्ने बताए । नवौँ महाधिवेशनमा केपी शर्मा ओली सँग पराजित भएपछि उनी मूलभूत रूपमा पार्टीको सत्ता बाहिर रहेका हुन् ।

२०५० सालमा मदन भण्डारीको मृत्युपछि नेपालले लगातार १५ वर्ष एमालेको शक्तिशाली महासचिव चलाए । त्यस बेला आफू विरुद्धमा लाग्ने कार्यकर्तालाई कारबाहीको रणनीति बनाएका उनले अहिले कार्यकर्ता प्रति उदार हुनुपर्ने भाषण गरिरहेका छन् ।

२०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा एमाले तेस्रो स्थानमा पुग्यो । नेपालकै नेतृत्वमा निर्वाचनमा होमिएको एमालेले लज्जास्पद हार बेहोर्नुपर्‍यो । लामो समय पार्टी नेतृत्व गरेका नेपालको पार्टीमा तीव्र आलोचना भयो । नैतिकताको आधारमा राजीनामा दिएको भन्दै महासचिव पद त्यागे । काठमाडौँ र रौतहटबाट उम्मेदवार भएका उनी दुवै क्षेत्रमा पराजित भए । त्यसपछि एमालेको आकस्मिक महाअधिवेशन भयो । झलनाथ खनाल अध्यक्ष भए ।

निर्वाचनमा पराजित भएपछि शक्तिको भोकमा रहे उनी । चुनाव हारे पनि प्रधानमन्त्री हुने दौडमा लागे । तत्कालीन नेपाली काँग्रेसका सभापति गिरिजा प्रसाद कोइरालाको बलमा प्रधानमन्त्री भए। सबैभन्दा ठुलो दल नेकपा माओवादीलाई बाहिर राखेर गठबन्धनको सरकार बन्यो । वर्ष दिन पुग्न नपाउँदै राजीनामा दिएका उनले ६ महिना सम्म कामचलाउ सरकार चलाए ।

खनालको कार्यकाल भरी मौन भएका उनी नवौँ महाधिवेशनमा अध्यक्षको उम्मेदवार भए । निर्वाचनमा पराजित भएपछि एमाले अध्यक्ष ओली प्रति निक्कै आलोचित देखिए । माओवादी केन्द्र सँग पार्टी एकता हुँदा पनि ओली विरोधी कित्तामा लागे उनी । पछि एमाले र माओवादी पुरानै अवस्थामा आएपछि एमालेमै रहन नसक्ने गरी अगाडी बढे । ओलीले शक्ति केन्द्रीकृत गरेको भन्दे असन्तुष्ट रहेका उनले नयाँ पार्टी गठन गरे ‘नेकपा एकीकृत समाजवादी’ । नेपालको पद पाउन कम्युनिष्टमा लाग्नेले गरिखाँदैन भन्ने टिपणीले उनी आफैप्रति व्यङ्ग्य गरेको छ ।

मङ्गलवारको कार्यक्रम पनि केपी शर्मा ओलीको गुटबन्दीको प्रवृत्ति, दक्षिणपन्थी सोच र अवसरवादका विरुद्धमा आफूहरू लागी परेको उनले बताए। कार्यकर्ता र नेताको सम्मान नगर्ने प्रवृत्तिका विरुद्ध लाग्दा देशै भरी राम्रो प्रतिक्रिया पाएको नेपालको बुझाई छ।

धेरैले नयाँ पार्टीको भविष्य भने पनि दिल्लीमा आम आदमीले त्यसलाई प्रष्ट पारिसकेको उनले स्मरण गराए । काँग्रेस आईको एकछत्र भएको दिल्लीमा आम आदमीले विकल्प दिएकाले आफूहरू त्यही लाइनमा अगाडी बढ्नुपर्ने बताए । एमालेको चुनाव चिन्ह सूर्यप्रति इङ्गित गर्दै उनले सूर्यमा ग्रहण लागिसकेको र अब कलम चिन्हले सत्य कुरा मात्र लेखेर चेतनाको सञ्चार गराउने उल्लेख गरे ।

भियतनाम, क्युबा, चीनको विकाश बारे स्मरण गराउँदै उनले मानव विकाशको उच्चतम अभ्यास नै कम्युनिस्ट भएको प्रमाणित गर्नुपर्ने बताए । समाजवादी पार्टीले गरिब, दलित र सुकुम्वासीको नेतृत्व गरेर परिवर्तनको चाहना भएका जनताको लागी आशावादी व्यवहार गर्नुपर्ने प्रष्ट पारे । गरिब जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीको लागि लाग्न अनुरोध गरे ।

मिटर व्याजमा लाग्ने ,मान्छेलाई दुःख दिने र गरिबलाई अन्याय गर्नेले पार्टीमा नलाग्न चेतावनी दिए । इटहरीको लायन्स क्लबमा बुधवारको प्रशिक्षण कार्यक्रममा पार्टी महासचिव वेदुराम भुसाल र प्रवक्ता तथा सचिव जगन्नाथ खतिवडाले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।