धरान : चर्चित ब्याण्ड रबिन एण्ड द न्यु रेभुलेसन ब्याण्ड आगामी पौष ३ गते शनिवार धरानमा आयोजना हुने 'टुबोर्ग मेगा लाइभ कन्सर्ट' मा आफ्नो प्रस्तुतिकोलागि धरान आउने भएको छ।

रबिन एण्ड द न्यु रेभुलेसन ब्याण्डका मुख्य गायक रबिन तामाङ अहिले 'रियालिटी सो ब्याण्ड च्याम्पियन नेपाल' को शुटिंगमा व्यस्त छन्। विभिन्न नेपाली चलचित्रमा अभिनय समेत गरेको तामाङको 'केटा-केटी, दम मरो दम, चिसो चिसो हावामा, आधुनिक आँगनमा, म मौनतामा, भेटे मैले शिवाजी, जति माया लाए पनि' लगायतका गीतहरू चर्चित छन्। चार वर्ष अघि न्यु इयर इभ कन्सर्टमा धरान आएका गायक रबिन तामाङ धरानको दर्शकहरूको माया हरेक पटकको कन्सर्टमा सधैँ बढिरहेको पाएको बताउँदै उनी भन्छन् -'लामो समयपछि मेगा कन्सर्ट त्यो पनि धरानमा आउन पाउँदा एकदमै खुसी छु।'

टुबोर्गको प्रस्तुति तथा सिल्भर इन्टरटेनमेन्टको आयोजनामा धरानको पब्लिक हाई स्कुलको मैदानमा आयोजना हुन लागेको कन्सर्टमा रबिन एण्ड द न्यु रेभुलेसन सँगै धरानको दुई स्थानीय प्रतिभाहरू हिना मल्ल बराइली र दीपिका बस्नेतको समेत प्रस्तुति रहनेछ। हिना मल्ल बराइली पहिलो नेपाल आइडलको टप टेन पुगेर चर्चामा आएकी गायिका हुन् भने दीपिका बस्नेत पनि नेपाल स्टार कि प्रतियोगी हुन्।

कोभिडको कारणले दुई वर्ष देखि कुनै पनि ठुलो कन्सर्ट नभएको धरानमा यो पहिलो कन्सर्ट हो। कार्यक्रम स्थलमा प्रवेशको लागि मास्क र सेनिटाईजर अनिवार्य गरिएको छ।

टुबोर्गको प्रस्तुति र सिल्भर इन्टरटेनमेन्टको आयोजनामा यस अघि धरानमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१७ , धरान र पथरीमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१८ आयोजना भइसकेको छ।