विराटनगर : प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को राम्रो तयारी भइरहेको बताए ।

उनले कोरोना सङ्क्रमण नियन्त्रणका लागि विगतमा भएका तयारी भन्दा राम्रो भइरहेको बताए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज विराटनगरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा सरोकारवाला बिच गरिएको प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले सो जानकारी दिएका हुन् । १४ वटै जिल्लामा सञ्चालित कोभिड उपचार सेन्टरहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिई सकिएको उनले बताए ।

प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा पनि बेडहरू थप गरिएको उनले बताए । मन्त्री यादवले भने,‘ कोभिड अस्पतालमा करिब २ सयको सङ्ख्यामा बेडहरू तयारी अवस्थामा छ ।’ अक्सिजन, भेन्टिलेटर बेडहरू पनि थप गरिएको उनले बताए । प्रदेश सरकार कोरोनाको नयाँ भेरियन्टको नियन्त्रणका लागि सजग रहेको मन्त्री यादवको भनाई छ ।

कोरोना सङ्क्रमण हुन नदिनका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन उनले आग्रह गरे । साहस नै रोगको उपचार भएकाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाए कोरोनाबाट डराउनु नपर्ने मन्त्री यादवको भनाई छ ।