धरान : धरानको भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, सम्वद्र्धनमा क्रियाशील धरानका अग्रज सर्जकहरूलाई धरान प्रज्ञा प्रतिष्ठानले अभिनन्दन तथा सम्मान गरेको छ ।

प्रज्ञा प्रतिष्ठान धरानले आज धरान-८ स्थित सभागृहमा रहेको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी धरानका वरिष्ठ साहित्यकार शरणकुमार राईलाई दोसल्ला ओढाएर अभिनन्दन पत्रले अभिनन्दन गरेको छ।

Saran-Kumar

त्यसैगरी धरानका अग्रज स्रष्टाहरू भाषा सहित्यतर्फ गिरिराज आचार्य, ललितकलातर्फ गोपाल शाक्य, गीत सङ्गीततर्फ गङ्गा वरदान, नाट्यकलातर्फ प्रेम सुब्बा र नृत्यकलातर्फ नगेन्द्र राईलाई जनही २० हजार रुपैयाँ नगद सहित सम्मान पत्रले सम्मान गरिएको छ ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर तिलक राईले अभिनन्दन तथा सम्मान गरेका थिए ।

Giriraj

धरानको कला तथा साहित्यको विकास गर्ने उद्देश्यले स्थानीय सरकार धरान उपमहानगरपालिकाद्वारा २०७४ सालमा गठित धरान प्रज्ञा प्रतिष्ठानले धरानको भाषा, साहित्य, कला अन्तर्गत सङ्गीत, नाट्य, नृत्य र ललितकला तथा संस्कृतिको क्षेत्रमा अनवरत लागिरहेका अग्रज सर्जकहरूलाई सम्मान तथा अभिनन्दन गर्दै आएको छ । गत वर्ष कोरोना महामारीको कारण स्थगित भएको कार्यक्रम यो वर्ष भएको हो ।

Gopal

कार्यक्रममा मेयर तिलक राईले पछिल्लो समय प्रविधिको विकासले कला साहित्यको सिर्जना सुस्ताएको बताए । कला साहित्यमा अग्रजहरू निराश र नयाँहरूको कम आकर्षणको कारण धरानमा पछिल्लो समय साहित्यिक कार्यक्रमहरू कम भइरहेको मेयर राईले बताए ।

Prem

कार्यक्रममा प्रज्ञा हिमाल राईले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको बारेमा प्रज्ञा प्रा.डा. गोपाल भण्डारीले स्पष्ट पारेका थिए । कार्यक्रममा कवि धनचन्द्र राईको कचहरी कविता सङ्ग्रहको पनि विमोचन गरिएको छ । प्रज्ञा प्रतिष्ठान धरानका अध्यक्ष अम्बिकाकुमार सम्वाहाम्फेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन प्रज्ञा गोपाल देवानले गरेका थिए ।

Bimochan Nagendra