धरान : धरानमा तिस देखी पचासको दशक सम्म जुन साहित्यिक जाँगर युवाहरूमा थियो त्यो अहिलेका युवा पुस्तामा नदेखिएको मेयर तिलक राईले बताएका छन्। उपमहानगरपालिकाको धरान प्रज्ञा प्रतिष्ठान मार्फत अग्रज श्रष्टाहरुलाई नगद सहित सम्मान कार्यक्रममा शुक्रवार उनले भने 'धरानमा पहिलेको जस्तो साहित्यिक, नाटकका गतिविधि छैन शून्यता छाएको जस्तो भएको छ ।’

कुनै बेला धरानमा आधा दर्जनको सङ्ख्यामा साहित्यिक समूहहरू थिए, रंङ्गकर्मीहरुको उत्तिकै नाट्य समूहहरू थिए। युवाहरू साहित्यिक गतिविधि नाट्य समूहमा क्रियाशील देखिन्थे। बितेका दिनहरूको स्मरण गराउँदै उनले भने 'दुईचार जना युवाहरू भेट भए सिर्जनात्मक कामका कुराहरू हुन्थ्यो र उनीहरू क्रियाशील हुन्थे।’

प्रविधिले ल्याएको बदलिँदो समयमा अहिले सबै व्यस्त देखिएकाले युवाहरूमा पहिले प्रत्यक्ष देखिने सिर्जनात्मक गतिविधि न्यून भएर गएको अनुभव सुनाउँदै मेयर राईले भने ‘साहित्य लेखन चिन्तनशील सिर्जनाको काम भएकोले समय चाहिन्छ, तर अहिले चिन्तनका लागि कसैसँग समय नभएर होला सृजनशील गतिविधिहरूमा शून्यता छाएको छ ।’ धरानमा अग्रज स्रष्टाहरू नयाँ पुस्तामा जाँगर बढाउने प्रेरणादायक भूमिका निर्वाह गर्नुपर्ने देखिएको पनि बताए ।

प्रज्ञा सदस्य नाटककार गोपाल देवानले प्रतिष्ठानद्वारा धरानका कवि, लेखकहरूका साहित्यिक कृति प्रकाशन गरिदिन पाण्डुलिपि बुझाउन पटक पटक आव्हान गर्दा पनि एउटा मात्र प्राप्त भएको गुनासो गरे । उनले भने ‘किताब प्रकाशनका लागि रकम चाहिन्छ प्रतिष्ठानले रकम लगाउने आव्हान गर्दा पनि कसैको कृति प्राप्त नहुन साहित्यकारहरूका लागि दुःखको कुरा हो ।’

प्रतिष्ठानलाई प्राप्त एक मात्र कृति युवा कवि धनचन्द्र राईको कविता सङ्ग्रह ‘कचहरी’ सम्मान कार्यक्रम बिच संयुक्त रूपमा विमोचन गरियो । विमोचित कविता सङ्ग्रहका कविताहरू बारे वरिष्ठ कवि बम देवानले समीक्षा गरेका थिए । प्राज्ञ सदस्य प्रा.डा. गोपाल भण्डारीले प्रकाशित पुस्तक तथा सम्मानित स्रष्टाहरूका योगदानका बारेमा चर्चा गरे ।

धरान सभागृहमा भएका सम्मान कार्यक्रममा भाषा, साहित्यका अग्रज स्रष्टा गिरिराज आचार्य वरिष्ठ ललितकलाकर्मी गोपाल शाक्य, लोक पपका प्रसिद्ध गायक नेपाली बब मार्ली गङ्गा वरदान, रङ्गकर्मी अभिनेता प्रेम सुब्बा, नृत्यकला निर्देशक नगेन्द्र राईलाई २० हजार नगद सहित सम्मानित भएका थिए। धरानका वरिष्ठ साहित्यकार शरणकुमार राईलाई अभिनन्दन गरिएको थियो । सभापतित्व प्रतिष्ठान संयोजक अम्बिकाकुमार सम्बाहाम्फेले गरेका थिए। यसअघि प्रतिष्ठानले स्व. कृष्णप्रसाद श्रेष्ठ, प्रा.डा. टङ्क न्यौपाने, बम देवान, जीवन भट्टराई, शारदा शाक्य, प्रनोद दत्त र मणि राईलाई सम्मान गरिसकेको छ।