इटहरी : नेकपा एमाले सुनसरी जिल्ला कमिटीको अधिवेशनको सरगर्मी बढ्दै गएको छ। अध्यक्ष लगायत पदाधिकारी र सदस्यमा आकाङ्क्षीको सङ्ख्या बढ्दै गएपछि अधिवेशन रोचक बन्दै गएको हो। अध्यक्ष र पदाधिकारीमा सर्वसम्मत गराउने प्रयास अगाडी बढे पनि अहिलेसम्म त्यसले सार्थक परिणाम पाउन सकेको छैन ।

पुर्वअध्यक्षहरु रेवतीरमण भण्डारी र द्वारिकलाल चौधरी अध्यक्षको दौडमा छन् । त्यस्तै हालका अध्यक्ष खेमराज पोखरेलले सर्वसम्मतको लागी दाबी पेस गरेका छन्। चौधरी र भण्डारी भन्दा बलियो अवस्थामा देखिएका छन् पोखरेल । आफूमै सर्वसम्मति हुनसक्ने बुझेका उनले सबैले मिलेर अगाडी बढ्नुपर्ने बताउँदै आएका छन् ।

भण्डारी यसअघि तिन पटक अध्यक्ष भइसकेका नेता हुन् । पछिल्लो समय भीम आचार्य सँग दुरी बढे सँगै ओली समूहमा उनको निकटता बढेको थियो । त्यसअघि एमाले भित्र पनि माधव नेपाल समूहका खास नेता हुन् उनी । पछि नेकपा एमाले विभाजन भएर माधव नेपालले छुट्टै पार्टी गठन गर्दा भण्डारी एमाले मै रहे। त्यसपछि सुनसरीमा आचार्यलाई कमजोर बनाउन उनी लागिपरे । नभन्दै परिस्थितिवश आचार्य कमजोर भए । तर भण्डारी शक्तिशाली बन्न सकेनन् । युवा सङ्घ, अनेरास्ववियु लगायत भातृसंगठनको साथ पाएर पनि भण्डारीले पुनः नेतृत्व पाउने सम्भावना कमजोर बन्दै गएको छ।

चौधरीले पनि एमाले भित्र आफ्नो स्थान खोजिरहेका छन् । केन्द्रीय सदस्यमा नपरेपछि उनी अध्यक्ष दोहोर्‍याउने लाइनमा पुगेका हुन् । इटहरी उपमहानगरपालिकाको मेयर समेत रहेका चौधरी विभिन्न काण्डका चर्चित अनुहार हुन् । यसअघि एमाले सुनसरीमा जेठ २ को विवादमा पनि उनी चर्चित भए। मेयर बनेपछि चौधरीले रमेश बस्नेतलाई कार्यबहाकको जिम्मेवारी दिएका थिए । पछि एमाले भित्र विवाद बढ्दै गएपछि केपी शर्मा ओलीले भण्डारीलाई अध्यक्षको जिम्मेवारी दिए । बस्नेत र भण्डारीको कमिटी बिच विवाद बढ्दै गयो। पछि पोखरेललाई तदर्थ समितिको सर्वसम्मत अध्यक्ष चयन गरियो।

पोखरेललाई अध्यक्ष घोषणा गर्न आयोजित कार्यक्रममा चौधरीले माइक खोसेका थिए। जेठ २ अघिको अध्यक्ष आफू भएको भन्दै उनले पार्टीलाई कम्पनी बनाउन खोजेको आरोप लगाए । अहिले पुनः चौधरीले अध्यक्षमा दाबी गर्दै आएका छन् । कार्यकर्तामाझ खासै जनमत नभए पनि आफ्नो हैसियत खोज्नकै लागी अध्यक्ष दाबी गरेको जस्तो देखिएको छ। त्यसमा पनि भण्डारीलाई रोक्न उनले सक्दो प्रयत्न गरिरहेका छन्। भण्डारीलाई रोक्न सके अर्को कार्यकालमा मेयरको लागी सिफारिसमा पर्न सकिने उनको बुझाई छ ।

अर्का नेता रामप्रसाद चौलागाईले पनि उम्मेदवारी दिने बताएका छन्। पार्टी भित्र शुद्धीकरणको लागी आफू अध्यक्ष बन्न लागेको उनको तर्क छ। एमाले इटहरीका पूर्व इन्चार्ज समेत रहेका उनी पार्टी भित्र हैसियत बनाउने लाइनमा छन्। पार्टी नेतृत्वमा पुग्ने र कुनै लाभको पदमा पुगेपछि पुनः कार्यबहाकको भरमा पार्टी चल्नुपर्ने अवस्थाको अन्त्यमा लागिपर्ने उनले बताए। कार्यकर्ताहरू नेतृत्वको खोजीमा रहेकाले दास मनोवृतीलाई हटाउन आफू अध्यक्ष हुनुपर्ने चौलागाईको तर्क छ। अहिले नै यसलाई छाड्ने र उसलाई समर्थन गर्ने भन्दा पनि चुनावी प्रक्रिया सुरुभएपछि निर्णय हुने उनको भनाई छ। सुनसरीको एमाले सङ्गठन निर्माण गर्ने कार्य योजना आफू सँग मात्र भएको उनले बताए ।

उता पोखरेलले भने सर्वसम्मत नेतृत्व चयनको सम्भावना बढ्दै गएको बताएका छन् । यसअघिको लामो विवादपछि आफ्नै नाममा सहमति भएको स्मरण गराउँदै उनले पूर्ण कार्यकालको लागी अध्यक्ष हुनेमा विश्वास व्यक्त गरे । धेरै उम्मेदवार हुँदा राम्रो सन्देश नजाने भन्दै उनले सहमतीकै आधारमा नेतृत्व टुङ्गो लाग्ने जानकारी दिए। आफू अध्यक्ष भएपछि सुनसरीलाई एमालेमय बनाउने तयारी रहेको पोखरेलले सुनाए। पूर्व उपाध्यक्ष समेत रहेका उनी जिल्ला कमिटीको पूर्णकालीन अध्यक्ष बन्ने प्रयासमा छन् । भण्डारी सँग असन्तुष्ट समूहलाई रिझाएर अध्यक्ष बन्ने उनको योजना छ।

चौलागाई र चौधरी बिच लामो समय विवाद बढेको थियो । पछिल्लो समय भण्डारीलाई एक्ल्याउने विषयमा भने दुवै नेता एक भएका छन् । भण्डारी अध्यक्ष भए आफूहरूको ठाउँ नहुने बुझेका नेताहरूले पोखरेलको नाममा सहमति जनाउने बुझिएको छ । चौतर्फी घेराबन्दीमा परेका भण्डारी पुनः पार्टी नेतृत्वमा नआए जनता बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षको कार्यकारी हैसियतमा मात्र हुनेछन् । यसअघि भण्डारीकै समर्थनमा रहेका धेरै नेताहरू अहिले उनी विरुद्ध मोर्चाबन्दीमा छन् । संविधानसभा सदस्य समेत रहेका उनी पुरानो साख जोगाउन पुनः अध्यक्ष बन्ने लाइनमा छन्।