इटहरी : नेकपा एमाले सुनसरीको अधिवेशनमा सहमतिको प्रयास असफल भएको छ। लामो समयदेखि सहमति जुटाउन लागेका नेताहरू अन्ततः असफल देखिएका हुन् । केन्द्रीय सदस्यहरूको पहल निरर्थक देखिएपछि निर्वाचन मार्फत नेतृत्व टुङ्गो लगाउने गरी प्रक्रिया सुरु भएको छ । निर्वाचन कमिटी नै गठन गरेर प्रक्रिया सुरुवात गरिएको हो।

शुक्रवारबाट सुरु भएको अधिवेशनले शनिवार नेतृत्व चयन गर्ने गरी तयारी थालिएको थियो। तर अध्यक्ष देखी सदस्य सम्म नै सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया अगाडी बढाइएको छ। अध्यक्ष लगायत पदाधिकारीमा सहमति गरेर सदस्यमा मात्र निर्वाचन गराउने जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्यहरूको प्रयास असफल भएको छ।

हालका अध्यक्ष खेमराज पोखरेल र पूर्व अध्यक्ष रेवतीमरण भण्डारी बिच प्रतिस्पर्धा हुने देखिएको छ। त्यस बाहेक अर्का पूर्व अध्यक्ष तथा इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरी पनि आकाङ्क्षी देखिएका छन् । अर्का नेता रामप्रसाद चौलागाईले पनि उम्मेदवारी दिने तयारी गरेको बुझिएको छ । चौलागाई र चौधरीले भने पोखरेलको नाममा सहमति जुटे पछि हट्ने सङ्केत गरेका छन् । चौधरी, चौलागाई र भण्डारी तिनै जना इटहरीका हुन् । भण्डारी नेतृत्वमा आए इटहरीमा आफूहरू छायामा पर्ने बुझेका उनीहरूले इनरुवाका पोखरेललाई समर्थन गर्ने बुझिएको छ ।

उता एमाले पूर्व सचिव तथा प्रदेश १ का पूर्व मुख्यमन्त्री भीम आचार्यले पनि भित्री सक्रियता देखाएका छन् । महाधिवेशन उद्घाटन सत्रमा समेत उपस्थित नभएका उनी भण्डारी विरुद्धको मोर्चा बन्दीमा छन् । लामो समयदेखि भण्डारीले आलोचना गरेको र प्रदेश १ संसदीय दलको नेतामा पराजित गरेको बदला लिन लागिपरेका छन् उनी । आचार्य पक्षीय नेताहरू नेकपा एकीकृत समाजवादीमा प्रवेश गरिहेको अवस्थामा उनको शक्ति क्षीण बन्दै गएको छ । भर्खरै सचिवमा पराजित भएका उनी सुनसरीमा पनि कमजोर अवस्थामा पुगेका छन् ।

पुनः भण्डारी अध्यक्ष भए आफू झनै कमजोर हुने उनको बुझाई छ । पोखरेल विजयी भए केही ढाडस मिल्ने बुझेका उनी लगायत केही नेताहरू भण्डारीका विरुद्धमा लागेका हुन् । सुनसरी सह इन्चार्ज भगवती चौधरी, हालका उपसचिव लिलम बस्नेतले पनि भण्डारी विरोधी मोर्चामा छन् । त्यसबाहेक पूर्व अध्यक्ष रमेश बस्नेतले पनि पोखरेललाई नै समर्थन गर्ने देखिएको छ ।

चौलागाई र चौधरी केही समय अगाडी एक आपसमा विरोधीको रूपमा देखी पनि भण्डारीलाई पराजित गर्ने विषयमा एक भएका छन् । दुवै नेताहरू आचार्य निकट मानिन्छन्। उता भण्डारी समूहले भने सहमति नभए निर्वाचनमा जान समेत तयार भएको बताएको छ । कार्यकर्तामाझ आफूहरू बलियो भएको भण्डारी समूहको दाबी छ । मौजुदा केन्द्रीय सदस्यहरूको समर्थन पाएको भण्डारी समूह निर्वाचनमै जाने मनसायमा देखिएको हो ।

तथापि आइतबार १० बजेदखी १ बजेसम्म उम्मेदवारी मनोनयनको तयारी थालिएको छ । त्यसपछि सहमति जुटाउन भन्दै २७ गतेसम्म उम्मेदवारी फिर्ता लिने समय राखिएको हो । निर्वाचन प्रक्रिया भनीएपनि मतदानको समय अझै टुङ्गो लाग्न सकेको छैन। २२ सय प्रतिनिधिले मतदान गर्ने निर्वाचनमा कडा प्रतिस्पर्धा हुने भएको छ।