धरान : धरानमा भइरहेको गोधुली फुटबल रनिङ्ग कप अन्तर्गत मंगलबार भएको खेलमा धरान-१३ र धरान-१८ विजयी भएका छन् ।

आज मंगलबार भएको पहिलो खेलमा धरान-१३ ले धरान ७ विरुद्ध फराकिलो जित हात पारेको छ । १३ नं. वडाले ७-० गोल अन्तरको जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ । खेलको ७ ओैँ मिनेटमा धरान-१३ को तर्फबाट विवेक राई बि र खेलको २२ ओैँ मिनेटमा मिलन लिम्बुले गोल गर्दै पहिलो हाफमा १३ नम्बर वडा २-० गोल अन्तरले अघि थियो ।

दोस्रो हाफमा १३ नं. वडाले गोलको वर्षा नै गर्‍यो । खेलको ४७ ओैँ मिनेटमा विवेक राई ए ले गोल गरे । लगत्तै परिवर्तन श्रेष्ठले अर्को गोल थपे । उनले खेलको ५४ ओैँ मिनेटमा गोल गरेका थिए । खेलको ६५ ओैँ मिनेटमा मन्दिप राईले गोल गरे भने निशान श्रेष्ठले निरन्तर २ गोल गरेपछि खेल ७-० गोल अन्तरको स्थितिमा टुङ्गिएको थियो । खेलको म्यान अफ द म्याच धरान-१३ का मिलन लिम्बू घोषित भएका थिए । उनले मेडल र १ हजार ५ सय नगद पुरस्कार प्राप्त गरेका थिए ।

त्यसै गरी आज भएको दोस्रो खेलमा धरान-१८ ले धरान-५ लाई १-० गोल अन्तरले पराजित गरेको छ । निकै नै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयसम्म दुवै टोली तर्फबाट गोल हुन सकेन । खेलको ईन्जुरी समयमा धरान-१८ को तर्फबाट निकेश राईले गोल गर्दै टोलीलाई जित दिलाए ।

उनले पेनाल्टी क्षेत्र बाहिर पाएको फ्रिकिकको अवसर सदुपयोग गर्दै गोल गरेका थिए । खेलको म्यान अफ द म्याच पनि गोलकर्ता निकेश नै घोषित भएका थिए । उनले मेडल र नगद १ हजार ५ सय पुरस्कार प्राप्त गरेका छन् ।

माघ २ गते नै फाइनल हुने

सरकारले कोरोना भाइरस फैलन सक्ने भन्दै विभिन्न क्षेत्रमा भीडलाई नियन्त्रण गर्ने निर्णय गरेसँगै गोधुली क्लबले पनि माघ २ गते नै फाइनल खेल गरेर प्रतियोगिताको अवधि छोटाएको छ ।

माघ ८ गते फाइनल हुने तालिका बनाएको भए पनि नयाँ तालिका सार्वजनिक गर्दै माघ २ गते नै फाइनल खेल हुने क्लबले जनाएको छ । जस अनुसार अब दैनिक ४ वटा खेल हुने भएको छ । भोलिको पहिलो खेल धरानको वडा नं. ९ र ८ बिच बिहान ८ बजे हुने भएको छ । त्यस्तै दोस्रो खेल बिहान ११ बजे धरान-१५ र १० नं. बडाबिच हुने भएको छ ।

त्यस्तै तेस्रो खेलमा धरान-१७ नं. वडा र ११ नं. वडाले दिउसो ११ बजे प्रतिस्पर्धा गर्ने भएका छन् भने भोलि हुने अन्तिम खेल दिउसो ३ बजे धरान १९ र २० बिच हुने आयोजकले जनाएको छ।