धरान : कृषि कर्म गर्न सक्यो भने आफ्नो देशमै केही गर्न सकिन्छ भन्ने उद्देश्यका साथ धरानका मङ्गलसिंह आङबुहाङ उन्नत जातको बाख्रा पालनमा लागेका छन् ।

पूर्वी पहाडी जिल्ला ताप्लेजुङको चाँगेमा जन्मिएका मङ्गलसिंह वैदेशिक रोजगारीमा साउदी अरब पनि पुगे । त्यहाँ उनले १४ वर्ष काम गरे । १४ वर्ष विदेश बसेको र गरेको मेहनत सम्झेर उनले सोचे विदेशमा गर्ने मेहनत र परिश्रम स्वदेशमै गर्दा के हुन्छ ? त्यही सोचले अहिले मङ्गलसिंह “आङ्बुहाङ एग्रिकल्चर एन्ड लाइभ स्टोक फर्म प्रा.ली.”को मालिक बने ।

यो फर्म धरान उपमहानगरपालिकाको वडा नं. ४ को पत्राङ्वारी सिरान सालघारीमा रहेको छ । त्यहाँ मङ्गलसिंहले २७ कठ्ठा ४ धुर जग्गामा २०७४ सालमा आङ्बुहाङ एग्रिकल्चर एन्ड लाइभ स्टोक फर्म प्रा.ली. दर्ता गरी सञ्चालनमा ल्याएका छन् ।

धरान बजार देखि करिब ५ किलोमिटरको दुरीमा रहेको सो फर्ममा हाल कृषि सम्बन्धी जानकारी लिनेहरू दैनिक जसो पुग्ने गर्दछन् । चारै तिर जङ्गलको बिचमा रहेको सो फर्ममा मङ्गलसिंहले बाख्रा पालन, कुखुरा पालन, तरकारी खेती, बेसार खेती र फुल नर्सरी गरे ।

Bakhra-palanma-ramaungdai-2

तर पछिल्लो समय उनी बाख्रा पालन तर्फ आकर्षित भएका छन् । केही दिन अघि मात्रै उनले करिब १२ लाख बरावरको बोका र बाख्रा आफ्नो फर्ममा थपेर बाख्रा पालनको सुरुवात गरेका छन् । अस्ट्रेलियन वोयर जातको बाख्रा, जमुना पारी र खरीबाख्रासंगै स्थानीय बाख्रा गरी करिब ४ सय बाख्रा पालन सुरु गरेका छन् ।

यस भन्दा अघि कुखुरा पालन, तरकारी खेती गरिसकेका आङ्बुहाङ अहिले बाख्रा पालनमा लागेका छन् । कृषि कर्ममा अरू कर्म भन्दा बाख्रा पालन सहज हुने भएकोले आफू बाख्रा पालनमा लागेको उनी बताउँछन् । बङ्गुर, कुखुरा पालन गर्दा पनि फाइदा नहुने भने होइन ।

तर सबै चिज किनेर दिनुपर्ने भएकोले यो बढी आर्थिक भार हुने उनको भनाई छ । तर बाख्रामा खुल्ला चरन क्षेत्र भयो भने नुन र भुस बाहेक अरू किन्न नपर्ने भएकोले आफू बाख्रा पालनमा आकर्षित भएको उनी बताउँछन् ।

Bakhra-palanma-ramaungdai-3

आफ्नो फर्म जङ्गलको बिचमा रहेकोले बाख्रालाई चराउन लान कुनै समस्या नभएकोले बाख्राबाट आफूलाई निकै फाइदा हुने उनी बताउँछन् । केही महिना अघि मात्रै उन्नत जातको बाख्रा थपेका मङ्गलसिंहको फर्ममा अहिले बाख्राको पाठा उत्पादन भइसकेका छन् । फागुन सम्ममा आफ्नो फर्मबाट केही बाख्राको पाठा बेच्ने तयारीमा रहेको आङ्बुहाङ बताउँछन् ।

उनी भन्छन् विदेशमा गर्ने काम र मेहनत यही गर्न सक्यो भने यही विदेशमा कमाइने पैसा कमाउन सकिने उनी बताउँछन् । विदेशबाट स्वदेश फर्केर आङबुहाङले निकै धेरै सङ्घर्ष गरे । अन्ततः उनी आङ्बुहाङ एग्रिकल्चर एन्ड लाइभ स्टोक फर्म प्रा.ली. सञ्चालक बने ।

Bakhra-palanma-ramaungdai-4

उनले आफ्नो फर्म क्षेत्रमा बाख्रा पालन मात्रै नभएर अरू पनि कृषि सम्बन्धी थुप्रै गतिविधिहरू गर्दै आइरहेका छन् । उनको फर्म हाता भित्र यस पटक करिब २ लाख बरावरको बेसार समेत उत्पादन भएको छ । उनले भने गर्न सक्यो भने कृषिमा धेरै फाइदा छ ।

Besar