धरान : पछिल्लो समय कोरोना संक्रमणदर बढेसँगै मौसमी रुघाखोकीका कारण धरानका औषधी पसलहरूमा पनि ज्वरोको औषधी सिटामोल अभाव देखिएको छ ।

धरानका निजी औषधी पसलहरूमा सिटामोल खोज्दै आउने सर्वसाधारण धेरै छन् तर औषधी सकिएको बीपीको गेट अगाडी रहेको हलेसी फार्मेसीका प्रोप्राइटर नवराज ढुङ्गानाले बताए ।

पछिल्लो समय सिटामोल अभाव हुनुको कारण एकै जना मान्छेले आवश्यकता भन्दा बढी खरिद गरेर लौजानु र सिटामोल पाइँदैन रे भन्ने हल्लाको कारण भएको उनी बताउँछन् । बीपीको अगाडीका अधिकांश औषधी पसलहरूमा सिटामोल पाउन छाडेको छ ।

धरानको छाताचौकमा रहेको बालाजी मेडिकल हलमा पनि २ दिन देखि सिटामोल अभाव भएको छ । हलका प्रोप्राइटर सतिश अग्रवालले भने 'सिटामोल खोज्ने मानिस थुप्रै आउने गरे पनि हामीसँग औषधी छैन, एक दुई दिनमा सायद सिटामोल आउला' ।

पछिल्लो समय धरानमा मात्रै होइन देशैभर सिटामोल अभाव देखिएको छ । तर यो अभाव धरानको हकमा निजी औषधी पसलहरूमा मात्रै देखिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

धरान उपमहानगरपालिका अन्तर्गत १५ वटा सरकारी स्वास्थ्य केन्द्रहरूमा भने सिटामोल पर्याप्त भएको मेहेताले बताए । धरानका धेरै जसो मानिस सामान्य बिरामी हुँदा पनि सरकारी सेवा सुविधा पाइने स्वास्थ्य संस्थामा नआउने र निजी मै जाने भएकोले पनि निजी औषधी पसलहरूमा सिटामोल अभाव भएको हुनसक्ने मेहेताले बताए ।

अर्को कुरा सरकारी प्रोटोकल कोरोना लागेमा सिटामोल खाएर घरमै आराम गर्नु भनिएकोले पनि सर्वसाधारणले सिटामोल खरिद गरेर स्टोक राख्नाले सिटामोल अभाव देखिएको हो ।

धरानमा दैनिक झन्डै २ सयको नजिक कोरोना सङ्क्रमित थपिँदै गरेको बेलामा सर्वसाधारणले स्टक राख्नका लागि बढी सिटामोल खरिद गरेकोले पनि बजारमा सिटामोल अभाव देखिएको हुन सक्ने औषधी व्यावसायीहरुको भनाई छ ।