धरान : सङ्घीय प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसकी सांसद मिना सुब्बाले आफ्नै खर्चमा पिण्डेश्वर मन्दिर परिसरमा स्नान घर सहितको शौचालय निर्माण गरिदिएकी छन् । यसअघि मन्दिरका पुजारी, सहयोगीहरू र दैनिक विदेशबाट समेत आउने दर्शनार्थीलाई शौचालयको सुविधा थिएन ।

निर्माणाधीन स्नान घर सहितको संरचनामा दुई वटा शौचालय, एक स्नान घर र एक पिसाब कोठा रहेको छ। सांसद सुब्बाका अनुसार निर्माण कार्य सम्पन्न गर्न ४ लाख रुपैयाँ भन्दा बढी लाग्ने अनुमान गरिएको छ। शौचालयको नक्सा डिजाइन धरान उपमहानगरपालिकाले गरिदिएको हो । अनुमानित लागत ३ लाख ६५ हजार रहेकोमा निर्माण सम्पन्न भइसक्दा लागत बढ्ने भएको हो।

उक्त निर्माण कार्य सांसद मिना सुब्बाको व्यक्तिगत खर्चमा भएको हो । उनले भनिन् ‘धरानको प्रसिद्ध धार्मिक स्थल परिसरमा राम्रो शौचालय समेत नभएकोले मैलै व्यक्तिगत खर्चमा शौचालय बनाइदिएकी हुँ।’ यसमा सरकारी वा सांसद कोषको एक रुपैयाँ पनि खर्च भएको छैन । पिण्डेश्वर मन्दिरका लागि केही गरौँ भन्ने पहिले देखी लागेकोमा धरान-१४ का काँग्रेस वडा सभापति श्याम श्रेष्ठको आग्रहमा बल्ल केही गर्न पाएको उनले बताइन्।

पिण्डेश्वर मन्दिर बाहिर सार्वजनिक शौचालय भएता पनि मन्दिर परिसरमा सुविधायुक्त शौचालय थिएन। त्यहाँ आश्रय लिएर बस्ने साधु सन्तहरूका लागि पुरानो शौचालय भए पनि जीर्ण अवस्थामा छ। मन्दिरमा दैनिक विदेशबाट समेत आउने बृद्धबृद्धा दर्शनार्थीहरुका लागि नयाँ बनेको शौचालयले सुविधा प्रदान गर्नेछ । साथै मन्दिरका पुजारी, सहयोगीहरूले परिसरमै सुविधा पाउने छन्।