धरान : प्रदेश १ सरकारले कोसीको पुलदेखि मेची पुलसम्म र विराटनगर जोगवनीदेखि धरानसम्म सि सी क्यामेरा जडान गर्ने भएको छ । प्रदेशको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सो स्थानका मुख्य राजमार्ग क्षेत्रमा सि सी क्यामेरा जडान गर्न लागिएको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले जानकारी दिए ।

रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाले उत्पादन गरेको कार्यक्रम प्रदेश डायरीमा कुरा गर्दै मन्त्री कार्कीले शान्ति सुरक्षामा प्रविधिबाट निगरानी गरिने उनले बताए । मन्त्री कार्कीका अनुसार सि सी क्यामेरा जडान गर्नका लागि बजेट विनियोजन समेत गरिएको छ।

शान्ति सुरक्षाको दृष्टिकोणमा सरकार नागरिकसँगै छ भन्ने बनाउनका लागि सरकारले वैज्ञानिक ढङ्गले काम गरिरहेको उनको दाबी छ। ‘हामीले वैज्ञानिक ढङ्गले काम गरिरहेका छौँ । प्रदेशको राजधानीलाई पनि हामीले प्रविधिमैत्री निगरानीमा राख्ने गरी हामीले काम गरिरहेका छौँ ।’

प्रदेश सरकारले १४ वटै जिल्लामा गरिब, असक्त, महिला आदिलाई लक्षित गरेर निःशुल्क कानुनी सहायता केन्द्र स्थापना गरिने उनको भनाई छ । सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालय हो भनेर देखिने गरी काम गर्ने उनले बताए । कार्की अनुसार केही महिना भित्रै प्रदेशका अदालत तथा बारहरूमा प्रदेश सरकारका ऐन कानुन भेट्न सकिने छ।