इटहरी : मोरङको सुन्दरहरैचा नगरपालिकामा सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

बेलबारी नगरपालिका ४ घर भएकी ३० वर्षीय महिला माथि सामूहिक बलात्कार भएको आशङ्कामा उनीहरू पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मन्जील मुकारुङका अनुसार श्रेष्ठ होटलका सञ्चालक ३६ वर्षीय अर्जुन श्रेष्ठ, उनका भाइ २७ वर्षीय मनोज श्रेष्ठ र रामबहादुर नेपालीले बलात्कार गरेको आशङ्का गरिएको छ ।

प्रहरीले अर्जुन र मनोज सहित होटलमा काम गर्ने आरती श्रेष्ठलाई समेत पक्राउ गरेको छ । बलात्कार भएको घटना प्रत्यक्ष देखेकी आरतीले प्रहरीलाई खबर नगरेको पाइएपछि उनलाई समेत पक्राउ गरिएको बताइएको छ । अर्का पिडक भनिएका रामबहादुर भने अझै फरार छन् ।

बलात्कृत महिलाको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको छ । इटहरीमा ड्युटी सकेर गछियास्थित बहिनीको घरमा फर्कँदै गरेको अवस्थामा उनलाई लिफ्ट दिने बहानामा होटेलमा पुर्‍याएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

पीडित महिलाले प्रहरीलाई दिएको जानकारी अनुसार प्रतिकार गर्न थालेपछि यातना दिने र कुटपिट गरेका थिए । महिलाका ४ वर्ष र १७ महिनाका दुई छोरी छन् । श्रीमान् २ महिनाअघि पहाड घर खोटाङ गएका थिए । शुक्रवार राति बलात्कार भए पनि पीडितलाई उपचारका लागि भर्ना गरिएपछि शनिवार दिउँसो मात्रै प्रहरीले घटना थाहा पाएको हो ।

घटना गम्भीर प्रकृतिको देखिएकाले थप अनुसन्धान जरुरी रहेको डिएसपी मुकारुङले बताए । पीडित महिलाकी बहिनीले घटनाका बारेमा आफूहरूलाई शनिवार बिहान ८ बजे मात्रै थाहा भएको बताइन् । उनले उपचारका लागि ल्याउने क्रममा रक्तस्राव नरोकिएको बयान दिएकी छिन् ।