इटहरी : सामाजिक क्षेत्रमा सक्रिय इटहरीको बुल्स ११ क्लबले इलाका प्रहरी कार्यालय इटहरी र प्रदेश नम्बर एक ट्राफिक प्रहरीको सहकार्यमा मास्क वितरण तथा सवारी साधनहरूमा स्यानिटाइजर गरेको छ।

इटहरीको धरान लाइन आज आयोजित जनचेतनामूलक कार्यक्रममा ५ सय जना मानिसलाई मास्क वितरण गर्नुको साथै ६० वटा बस, २ सय वटा सिटी सफारीलाई स्यानिटाइजर गरिएको बुल्स एलेभेन क्लबका उपाध्यक्ष रामु राईले जानकारी दिए।

इलाका प्रहरी कार्यालय र प्रदेश नम्बर एक ट्राफिक प्रहरी कार्यालय इटहरी सँगको सहकार्यमा तपाइको मास्क खोइ अभियान अन्तर्गत क्लबले यसअघि पनि इटहरी बजार क्षेत्रमा मास्क नलगाई हिँड्ने झण्डै चार सय जनालाई मास्क वितरण गरेको थियो ।

कोरोना भाइरसको तेस्रो लहर फैलिएको अवस्थामा मास्क नलगाई हिँड्ने उनीहरूलाई मास्क लगाउन प्रोत्साहन गर्दै निःशुल्क मास्क वितरण गरिनुको साथै सवारी साधनहरूमा स्यानिटाइजर गरिएको क्लबका उपाध्यक्ष राईले जानकारी दिए । इलाका प्रहरी, टाफिक प्रहरी कार्यालयका प्रहरी अधिकृतहरू सहितको टोलीले कोरोना भाइरस सङ्क्रमणबाट जोगिन अपनाउनुपर्ने सावधानी लगायतको प्रचार सामाग्री समेत वितरण गरिएको थियो ।

गत तीन वर्षदेखि प्रत्येक साताको शनिवार इटहरी तथा आसपासको क्षेत्रमा सरसफाइ गर्दै आएको बुल्स इलेभेन क्लबले केही समय सरसफाइ अभियानलाई थाती राख्दै जनचेतनामूलक काम गरिएको उपाध्यक्ष राईको भनाई छ । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर फैलिएको अवस्थामा थालिएको यस्तो अभियान फलदायी हुने र यसलाई निरन्तर जारी राख्नको लागि सबै क्षेत्रको साथ सहयोग हुनुपर्ने सर्वसाधारण बटुवाहरूको धारणा पाइएको थियो ।