धनकुटा : धनकुटा नगरपालिका वडा नं. ४ छारागाँउकी ५२ वर्षीय सिता श्रेष्ठ गत पुस १६ गतेदेखि हराइरहेकोमा उनको शव हत्या गरी पुरेको अवस्थामा घरभित्र आज फेला परेको छ । 

घरभित्रको भुइँतलामा पुरेको अवस्थामा शरीरमा विभिन्न खालका चोटहरू रहेको र शव गलेको अवस्थामा मृतकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले जानकारी दिए । सिता हराएको भनेर पुस २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको कार्कीले जानकारी दिए ।

उजुरीपछि प्रहरीले कुकुर परिचालन गरेर खोज तलास गरेको भए पनि फेला पार्न सकेको थिएन । लामो समयसम्म घटनाको विषयमा प्रहरीले केही पत्ता लगाउन नसक्दा प्रहरी चुकेको स्थानीयको आरोप रहेको थियो । 

सिताको हत्या घरायसी विवादको क्रममा उनका श्रीमान् ५२ वर्षका सिताराम भनिने सिताकुमार श्रेष्ठले गरेको खुल्न आएको डिएसपी कार्कीले जानकारी दिए । श्रीमती हत्या गरी घरभित्र शव पुरेर फरार रहेका सितारामलाई हिजो ललितपुरबाट पक्राउ गरी धनकुटा ल्याइएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान गरी प्रहरीले कर्तव्य ज्यान शीर्षकमा जिल्ला अदालतमा मुद्दा दर्ताको तयारी गरेको प्रहरीले जनाएको छ । शवको  पोस्टमार्टमका लागि आज नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको जनाएको छ ।