धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अस्पताल र दैनिक प्रशासनिक कार्य गर्न सरकारले पठाएको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.श्याम सुन्दर यादव आज प्रतिष्ठान आइपुगेका छन् ।

उनीसँगै सरकारले प्रतिष्ठानको आर्थिक तथा खाता सञ्चालन गर्न कोष तथा महालेखा नियन्त्रकको कार्यालयबाट एक जना उप-सचिव पठाउने निर्णय गरेको थियो । महालेखा नियन्त्रकको कार्यालयले सुनसरीस्थित कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख चिरञ्जीवी अधिकारीलाई प्रतिष्ठान पठाएको छ। यादव र अधिकारी आज सँगै प्रतिष्ठान आइपुगेका हुन् ।

प्रतिष्ठान आएर दुवैले कर्मचारी प्रशासन प्रमुख उमेश कोइरालालाई भेटेर मन्त्रालयको पत्र बुझाएका थिए । प्रतिष्ठानको गेस्ट हाउसमा पुगेका दुवैले प्रतिष्ठानका विभिन्न विभागका प्रमुखहरूसँग छलफल गरेका छन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरूलाई काम गर्न रोकेर सरकारले स्वास्थ्य मन्त्रालय र महालेखाबाट कर्मचारी पठाउने विषयमा कर्मचारी कल्याण समितिले आपत्ति जनाएको छ । यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजको पनि सरकारको यो निर्णय प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाजका अध्यक्ष डा. अरुण कुमार सिंह र सह-सचिव विजय श्रीबास्तवद्वारा हस्ताक्षरित विज्ञप्तिमा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विगत केही समय देखि कठिन र अन्यौल परिस्थितिको सामना गर्दै आइरहेको अबस्थामा नेपाल सरकारको मन्त्रिपरिषद्ले मिति २०७८/१०/०६ गते चलानी नं. १३२१ द्वारा प्रतिष्ठान सम्बन्धी महत्त्वपूर्ण निर्णय गरेको प्रति हाम्रो चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।yadav-bp-news-2