इटहरी : मोरङको सुन्दरहरैचा-४ बलियामा गत शुक्रवार ३१ वर्षीय महिला सामूहिक बलात्कारमा परेको घटनाका विषयमा इन्सेक प्रदेश १, कार्यालय विराटनगर सहित अधिकारकर्मीको टोलीले आज पीडित र पीडित पक्षसँग भेट गरी घटनाका विषयमा जानकारी लिएको छ।

सामूहिक बलात्कार घटनामा पीडित महिलाको स्वास्थ्य अवस्थाका बारेमा अधिकारकर्मीहरूले कोसी अस्पतालमा पुगेर पीडितको अवस्थाका बारेमा जानकारी लिएका छन् । पीडितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएपछि पीडितको आर्थिक अवस्थालाई मध्यनजर गरी आर्थिक सहयोग गरिएको इन्सेक प्रदेश १ प्रमुख सोमराज थापाले बताए । घरेलु कामदारका रूपमा कार्यरत पीडितले तत्काल काम गर्न सक्ने अवस्था नभएकाले आर्थिक सहयोग गरिएको थापाले बताए । पीडितलाई इन्सेकले ५ हजार रुपियाँ र अन्य संस्थाले गरी १५ हजार रुपियाँ आर्थिक सहयोग गरेका छन् ।

पीडितका बाबुले अधिकारकर्मीसँगको भेटमा दोषीलाई कारबाही र आफूहरूले न्याय पाउनु पर्ने बताए । पीडितका बाबुले अधिकारकर्मीहरूलाई न्यायका लागि पहल गरिदिन आग्रह समेत गरे । अधिकारकर्मीको टोलीले मोरङका प्रमुख जिल्ला अधिकारीलाई भेटेर पीडितले न्याय पाउनु पर्ने विषयमा ध्यानाकर्षण गराएको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले घटनालाई गम्भीर रूपमा लिइएको बताउँदै घटना संवेदनशील भएकाले शङ्का आशङ्का नगर्न आग्रह गर्दै पीडितले न्याय पाउने बताए ।’

सामूहिक बलात्कार घटनाका दुई आरोपी अर्जुन श्रेष्ठ र उनका भाइ सुरज भनिने मनोज श्रेष्ठलाई प्रहरीले पक्राउ गरिसकेको छ । एक जना अझै फरार छन् ।

घटनाको इन्सेक, एवीसी नेपाल, साझा सवालका लागि साझा मञ्च (कोकन), ओरेक, माइती नेपाल, आफन्त नेपाल, साना हातहरू, सिविनका प्रतिनिधिहरूले अनुगमन गरेका थिए।