धरान : प्रदेश नं. १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका नौ जना कर्मचारी तथा सचिवालय सदस्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नौ जना कर्मचारी तथा सचिवालयका सदस्यहरूलाई कोरोना पोजेटिभ देखिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ का आधारमा सोमबार गरिएको परीक्षणमा मुख्यमन्त्री राजेन्द्रकुमार राई र मुख्यमन्त्री राईको श्रीमती शोभा पाठकको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए । 

विराटनगरको कोशी प्रोजेक्टस्थित मुख्यमन्त्री निवासमा गरिएको ३२ वटा स्वाब सङ्कलनमा ७ जनाको नतिजा भने कोरोना पोजेटिभ आएको छ । जसमा मुख्यमन्त्रीका एक जना स्वकीय सचिव, दुई जना चालक, एक जना प्रहरी र तीन जना कार्यालय सहयोगीको नतिजा पोजेटिभ आएको हो ।

यसअघि मुख्यमन्त्री सचिवालयतर्फ एक जना निजी सचिव र एक जना अधिकृतमा कोरोना पोजेटिभ देखिएको थियो । यो सँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या नौ पुगेको छ ।